समावेशी शिक्षा शैक्षिक दर्शन हो, जसले सबै विद्यार्थीलाई उनीहरूको शारीरिक, बौद्धिक, सामाजिक, भाषिकलगायत अपाङ्गता र अन्य विविधतालाई सम्बोधन गर्दै समावेशी सिद्धान्तको मर्म अनुसार, समतामूलक आधारमा, मूलधारको शिक्षा प्रणाली र कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप गर्ने शैक्षिक प्रक्रियालाई भनिन्छ । समावेशी शिक्षाले प्रत्येक विद्यार्थीले अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सक्ने लचिलो र सहायक अध्ययन वातावरण प्रदान गर्ने लक्ष्य राखेको हुन्छ, जसले कसैको अपाङ्गता वा भिन्नताका कारण शैक्षिक उपलब्धिबाट वञ्चित गर्न नहुने कुरालाई सुनिश्चित गर्छ । शिक्षामा अपाङ्गता समावेशी भनेको अपाङ्गता भएका बालबालिकाले शिक्षाले निर्दिष्ट गरेका उद्देश्य प्राप्त गरी सर्वाङ्गीण विकाससँगै असल योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार हुनु भन्ने हो । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि त्यस्तो जनशक्तिको योगदान महत्वपूर्ण हुन्छ ।
देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिक्षाको मूल उद्देश्य उत्पादनशील नागरिक तयार गर्ने भएकाले अपाङ्गतालगायत सबै नागरिकको सिकाइ सक्षमता पूरा गर्न शिक्षा प्रणाली सबैका लागि अनुकूल, समतामूलक, पहुँचयुक्त र समावेशी हुन आवश्यक छ ।
विकासक्रम
समावेशी शिक्षालाई एकीकृत शिक्षाको विकासक्रमका रूपमा लिन सकिन्छ । यसले शिक्षा क्षेत्र वा विद्यालय जीवनका केवल भौतिक पक्षलाई मात्र होइन, शैक्षिक प्रणालीका सबै पक्षलाई समावेश गर्न जोड दिएको हुन्छ । संयुक्त राष्ट्रसङ्घको सार्वभौमिक मानव अधिकार घोषणापत्रले शिक्षा सबै बालबालिकाको नैसर्गिक अधिकारका रूपमा परिभाषित गरेपछि संसारभरि बालबालिकाको बाँच्न पाउने अधिकार, माया ममता, संरक्षणको अधिकार, शिक्षाको अधिकार, परिचयको अधिकारलगायतका विषय गहनता र महìवका साथ बहसमा आए । बिस्तारै नीतिगत साथै कार्यक्रमगत रूपमा पनि विस्तृत हुँदै आए । यो सँगै अपाङ्गता भएका बालबालिकाको शिक्षाको विषय पनि अधिकारको रूपमा जनवकालतमार्फत सार्वजनिक चासोको विषय बन्दै आएको छ । यसलाई थप सुदृढ बनाउन युनेस्कोले १९९४ मा सलामाङ्कामा गरेको अन्तर्राष्ट्रिय सम्मेलनले सलामाङ्का स्टेटमेन्ट जारी गरी समावेशी शिक्षाको अवधारणालाई अगाडि सारेको पाइन्छ र तत्पश्चात् समावेशी शिक्षाको मर्म र आवश्यकतालाई विश्वव्यापी रूपमा वकालत गर्दै अपाङ्गतालगायत सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न शैक्षिक प्रणालीहरूमा अपाङ्गता भएका बालबालिकाको पूर्ण सहभागितालाई जोड दिएको छ ।
शिक्षक, शिक्षाविद् र शिक्षाका सरोकारवालाको बिचमा अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धमा दुई वटा अवधारणालाई पारस्परिक वा प्रतिस्पर्धी बहसका रूपमा अगाडि ल्याएको देखिन्छ; विशेष शिक्षा वा समावेशी शिक्षा र यी दुई पक्षलाई शक्ति सम्बन्ध, मूल्य र अभ्यासहरूको स्थापना गर्ने विषयमा ठोस धारणा अस्पष्ट नै देखिन्छन् । पूर्वी युरोपेली देश–एस्टोनियाले २०१० देखि २०१९ को बिचमा आधारभूत विद्यालय र विशेष विद्यालय ऐन विकसित गरी कानुनी संरचना स्थापना गर्दै थप आवश्यकता भएका विद्यार्थीलाई शिक्षाको अधिकार प्रत्याभूत गर्ने जमर्को ग¥यो । यी पहलले अपाङ्गता भएका बालबालिकाको शैशिक आवश्यकतालाई सुदृढ गर्दै शैक्षिक व्यवस्थापनको पक्ष बलियो बनाएको उल्लेख गरेको छ । विशेष कक्षाहरूमा विद्यार्थीको सङ्ख्या बढेको देखियो भने मूलधारका कक्षामा पनि अपाङ्गता भएका विद्यार्थीको सहभागिता उल्लेख्य वृद्धि भएको जनाएको छ । यद्यपि, धेरै विद्यालयका व्यवस्थापकले अपाङ्गता भएका वा थप आवश्यकता भएका विद्यार्थीका लागि विशेष तालिम प्राप्त शिक्षक, विभिन्न थेरापी जस्तै स्पिच थेरापी, फिजियोथेरापी, अकुपेसनल थेरापीलगायत मानोसामाजिक परामर्श जस्ता विशेषज्ञको प्रभावलाई थप आवश्यकताका रूपमा बहस र छलफल अगाडि ल्याएको छ ।
समावेशी शिक्षाका मूल धारणा
समता : समताको अर्थ सबै व्यक्तिलाई जात, लिङ्ग, धर्म, अपाङ्गता, वा अन्य पहिचानका आधारमा कुनै भेदभाव नगरी समान अवसर, अधिकार, र सम्मान प्रदान गर्ने अवस्था हो । यसको उद्देश्य सामाजिक न्याय सुनिश्चित गर्दै सबैलाई समान सहभागिता र योगदानको अवसर उपलब्ध गराउनु हो । समतामूलक शिक्षा त्यो हो जहाँ सबै बालबालिकाले व्यक्तिगत आवश्यकता रुचि, चाहना र अवस्था अनुसारको सिकाइ उपलब्धि गर्ने अवसर प्राप्त गर्न सक्छन् । समतामूलक शिक्षाका लागि सबै विद्यार्थीलाई भौगोलिक, सामाजिक, आर्थिक, र सांस्कृतिक अवरोध हटाएर समान पहुँच सुनिश्चित गर्नु पर्छ । पाठ्यक्रम, शिक्षक प्रशिक्षण र नीतिगत व्यवस्थासहित विद्यालय पूर्वाधार समावेशी र भेदभावरहित हुनु पर्छ । भेदभावरहित भनेको म भेदभाव गर्दिन भन्ने मात्र होइन मेरा क्रियाकलापले सबैलाई न्याय गरेको छ भन्ने सुनिश्चित गर्नु हो, अर्थात् अपाङ्गताका कारण विद्यालय आउन नसक्नु र शिक्षाको अवसरबाट वञ्चित हुनुमा मेरो पनि हात छ भन्ने भावना जागृत हुनु हो । साथै सबै भिन्नतालाई सम्मान र अवसरका रूपमा हेरिनु र विविधताको स्वीकार नै शिक्षा विकासको अधिकारका रूपमा मानिनु समतामूलक शिक्षा हो ।
कानुन र नीतिगत व्यवस्था : अपाङ्गता भएका व्यक्तिको अधिकार महासन्धिको धारा २४ मा शिक्षासम्बन्धी प्रावधानले समावेशी शिक्षा प्रणालीको निर्माण गर्न अपाङ्गता भएका बालबालिका र युवालाई भेदभावरहित शिक्षामा समान र समतामूलक पहुँचको सुनिश्चित गर्न निर्दिष्ट गरेको छ । यसले अपाङ्गता भएका बालबालिकालाई मूलधारको शिक्षा प्रणालीसहित विद्यालयभित्रको शिक्षण सिकाइ क्रियाकलाप समतामूलक बनाउन र उनीहरूको व्यक्तिगत क्षमता, सम्मान, र पहिचानको पूर्ण विकास गर्न जोड दिएको छ । समावेशी र पहुँचयोग्य शिक्षाका लागि विद्यालयका संरचना, पाठ्यक्रम, र शिक्षण विधि र पाठ्यवस्तु अनुकूलन गरिनु पर्छ, सहायक प्रविधि र सेवा उपलब्ध गराउनु पर्छ । शिक्षकको भूमिका सशक्त बनाउन उनीहरूलाई विशेष तालिम दिनुका साथै सहायक सामग्रीको प्रयोगमा दक्ष बनाउनु पर्छ । अपाङ्गता भएका विद्यार्थीको आवश्यकता पूरा गर्न तालिम प्राप्त शिक्षक, साङ्केतिक भाषा, ब्रेल र मनोसामाजिक परामर्शलगायतका अतिरिक्त सहयोगी सेवा प्रदान गर्न आवश्यक हुन्छ ।
अनुकूलिन शिक्षण विधि : सिकाइको समावेशी ढाँचा अर्थात् युनिभर्सल डिजाइन अफ लर्निङ (युडिएल) शिक्षणको यस्तो रूपरेखा हो, जसले विविध क्षमता, रुचि र सिकाइ शैली भएका विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्न शिक्षण प्रक्रियालाई आवश्यकतामा आधारित, पहुँचयोग्य र समावेशी बनाउने रणनीतिको व्याख्या गर्छ । यसले सिकाइ सामग्रीको बहुआयामिक प्रस्तुति, विद्यार्थीका लागि विभिन्न अभिव्यक्तिका माध्यम, र उनीहरूको रुचि र सहभागितालाई प्रोत्साहन गर्न उल्लेख्य कक्षागत र बाहिरी क्रियाकलापलाई जोड दिएको हुन्छ । नेपालमा युडिएल कार्यान्वयनका लागि एकीकृत पाठ्यक्रम, विद्यालय शिक्षा नीति र समावेशी शिक्षा रणनीति, २०७७ जस्ता नीतिगत व्यवस्थाले समावेशी शिक्षालाई अग्रगमनतर्फ लगेको छ । प्रभावकारी कार्यान्वयनका लागि शिक्षकलाई युडिएलसम्बन्धी विशेष तालिम प्रदान गर्न, सहायक प्रविधि र उपकरणको प्रयोग गर्न र समुदाय, परिवार र विद्यालय सहकार्य तथा पूर्ण विद्यालय नीतिमार्फत सहकार्यमा आधारित शिक्षणमा जोड दिन जरुरी छ । उदाहरणका लागि दृष्टिविहीन बालबालिकाका लागि ब्रेल सामग्री उपलब्ध गराउने, ग्रामीण क्षेत्रमा बहुभाषिक शिक्षण सामग्रीको विकास तथा निर्माण गर्ने, साङ्केतिक भाषाको प्रयोग, सामग्री निर्माण, दृश्य सामग्रीमा जोड दिने र ठुला तथा रङ्गिन सचित्र सामग्री, श्रव्य दृश्य सामग्री, इजी टु रिड भर्सन, मनोसामाजिक सहयोग उपलब्ध गराउनु नै सिकाइको समावेशी ढाँचाको मूल आशय हो । नेपालमा युडिएलको कार्यान्वयनले समावेशी शिक्षाको मापदण्ड सुधार गर्दै सबै विद्यार्थीलाई समान अवसर र पहुँच सुनिश्चित गर्ने छ ।
सहयोगी सेवा : सहयोगी सेवा भन्नाले कुनै व्यक्ति, समूह वा समुदायलाई उनीहरूको आवश्यकता र क्षमता अनुसार उचित सहयोग र साधन उपलब्ध गराउने प्रक्रिया हो । विशेषतः समावेशी शिक्षाका लागि अपाङ्गता भएका बालबालिकाको सिकाइ सहजीकरणमा सहयोगी सेवाको ठुलो भूमिका हुने गर्छ । शिक्षामा सहयोगी सेवा भनेको सहयोग संयन्त्रलाई सङ्केत गर्न खोजिएको छ, जस अन्तर्गत दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीका लागि ब्रेलमा लेखिएका किताब उपलब्ध गराउनु, सस्त श्रवण भएका विद्यार्थीका लागि साङ्केतिक भाषाका सामग्री वा बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि ठुलो छापा र दृश्य श्रव्य सामग्रीमार्फत सिकाइ सहजीकरण गर्नु/गराउनु हो । यसको अतिरिक्त विद्यालयमा तालिमप्राप्त शिक्षक राखेर विद्यार्थीको व्यक्तिगत आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ ।
स्वास्थ्यसम्बन्धी सहयोग अन्तर्गत चिकित्सकीय सहयोगका लागि प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य जाँच, औषधीको उपलब्धता र विभिन्न थेरापी सेवा उपलब्ध हुनु आवश्यक मानिन्छ । प्राविधिक उपकरण जस्तै ह्विलचेयर, सुनाइने मेसिन, अक्षरलाई ठुलो बनाई पढ्न सक्ने यन्त्र वा कृत्रिम अङ्ग जस्ता उपकरण विद्यालय वा विद्यालय क्षेत्रभित्र सहज आपूर्तिको व्यवस्थासहित आर्थिक रूपमा कमजोर भएका विद्यार्थीका लागि निःशुल्क वा कम लागतमा उपलब्ध हुने कुराको सुनिश्चिततामा जोड दिएको हुन्छ । त्यसै गरी आर्थिक र सामाजिक सहयोगमार्फत गरिबीको रेखामुनि रहेका र सीमान्तकृत समूहभित्रका वर्गलाई जीविकोपार्जनका लागि सिपमूलक तालिममार्फत रोजगारको अवसर सिर्जना गरी विद्यार्थीको सिकाइ निरन्तरतालाई सहजीकरण गर्न सकिन्छ ।
शिक्षण विधि र अभ्यास : समावेशी कक्षा एक महत्वपूर्ण आयाम हो जसले अपाङ्गता भएका वा थप सिकाइ सहजीकरण आवश्यक भएका बालबालिका अन्य विद्यार्थीसँगै एउटै कक्षामा सहपाठीको सहयोग र समूहगत गतिविधिमार्फत सिक्न सक्ने कुरामा विश्वास गर्छ । यसमा आवश्यकता अनुसार विधि, प्रक्रिया र सामग्री अनुकूलन गरिन्छ, जस्तै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक, श्रवण वा छामेर सिक्न सक्ने सामग्री, श्रवण समस्या भएका विद्यार्थीका लागि साङ्केतिक भाषाको प्रयोग तथा बौद्धिक अपाङ्गता भएका लागि पढ्न सजिलो हुने प्रणालीलगायत बहुसंवेदी सामग्री श्रव्य, दृश्य, स्पर्शजन्य सामग्रीको उपयोगलाई अभिप्रेरित गरिएको हुन्छ । पाठ्यक्रमले नै अनुकूलित समावेशी शिक्षण उपकरणको सफ्टवेयर, एप्स, स्व्रिmन रिडर, श्रव्य पुस्तकहरू, रियाल टाइम सबटाइटलिङलगायतका सहायक उपकरणको प्रयोगले सिकाइ सहजीकरण गर्न जोड दिन्छ । समावेशी मूल्याङ्ककन प्रणाली पनि यसको अर्को महत्वपूर्ण विशेषता हो ।
पाठ्यपुस्तक विषयवस्तु र शिक्षण
समावेशी शिक्षण अभ्यासको पहिले आधार भनेको पाठ्यक्रम हो, जसले कुन विषय कसले हुन् विधि वा कुन विशेष उद्देश्य हासिल गर्नका लागि के के क्रियाकलाप कसरी गर्ने र समावेशिता कसरी सुनिश्चित गर्नेसम्मको खाका निर्धारण गर्ने भएकाले प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम तयार गर्न समावेशी शिक्षाले जोड दिएको हुन्छ । समावेशी पाठ्यक्रम भन्नाले शिक्षण सिकाइ उद्देश्य, पाठ्यवस्तु, प्रक्रिया, सामग्री र वातावरणलाई अपाङ्गतालगायत सबै विद्यार्थीका लागि पहुँचयोग्य, समान र सान्दर्भिक बनाउने प्रयास हो । पाठ्यक्रम र शिक्षण विधिले विद्यार्थीको क्षमता, रुचि र अवस्थालाई ध्यानमा राख्नु पर्छ ।
निष्कर्ष
समावेशी शिक्षा सबैका लागि शिक्षामा समान अवसर प्रदान गर्ने, विद्यार्थीको भिन्नतालाई स्वीकार गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने साधन हो । यसले शैक्षिक मात्र होइन, सामाजिक रूपमा पनि समता र सहभागिता सुनिश्चित गर्छ । यसले शैक्षिक सफलता, सामाजिक एकता र व्यक्तिगत सशक्तीकरणलाई प्राथमिकतामा राख्छ । पहिलो, शैक्षिक सफलता सुनिश्चित गर्न पाठ्यक्रम, शिक्षण विधि, र मूल्याङ्कन प्रणाली लचिलो हुनु पर्छ, जसले विद्यार्थीको क्षमता र आवश्यकता अनुसार सिकाइको प्रक्रिया समायोजन गर्न सकियोस् । समावेशी शिक्षाले सामाजिक एकताको आधार तयार गर्दै सहकार्य, आपसी आदर र सहिष्णुताको वातावरण निर्माण गर्छ । यसले विविध पृष्ठभूमिका विद्यार्थीलाई साझा सिकाइको माध्यमबाट एकअर्कालाई बुझ्न र सहयोग गर्न सक्षम बनाउँछ ।