• १० माघ २०८१, बिहिबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

घटेन घरेलु हिंसा : जबरजस्ती करणीमा उजुरीको चाङ

blog

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा महिला तथा बालिकामाथि हुने हिंसाको २० हजार ७९२ घटना दर्ता भएका छन् । पछिल्लो पाँच वर्षमा महिला तथा बालिकामाथि हुने विभिन्न प्रकृतिका हिंसामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । 

देशभर महिला तथा बालिकाविरुद्ध हुने हिंसाको घटना आर्थिक वर्ष २०७६-७७ मा १५ हजार ७५६, २०७७-७८ मा १८ हजार ९६१, २०७८-७९ मा २१ हजार ४५१, २०७९-८० मा २० हजार ९१३ र २०८०-८१ मा २० हजार ७९२ घटना प्रहरीमा दर्ता भएका छन् ।

जसमध्ये घरेलु हिंसा प्रकृतिका बर्सेनि ११ हजारदेखि १७ हजारसम्म घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ को पाँच वर्षसम्म क्रमशः  घटना ११ हजार ७३८, १४ हजार २३२, १७ हजार, १६ हजार ५१९ र पछिल्लो वर्ष १६ हजार ४१६ घटना प्रहरीमा दर्ता भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य समेत रहनुभएका अधिकारकर्मी डा. लिली थापा भन्नुहुन्छ, “हिंसा घटेको वा बढेको भन्दा पनि रिपोर्टिङहरू भइरहने क्रम अलि बढेको छ । पहिला रिपोर्टिङ हुँदैनथ्यो, अहिले हुन्छ । घरेलु हिंसा पनि छ । त्यो सँगसँगै हिंसाका नयाँ आयामहरू भएको अवस्था छ । जसले महिलाहरू पीडित छन् भन्ने कुरा छ ।”

हिंसाको घटना बढेको भन्दा पनि प्रकृतिअनुसार यो विद्युतीय माध्यमबाट हुने हिंसाका घटनाहरू बढेका छन् । महिला, पुरुष दुवैको संलग्नतामा हुने हिंसाको घटना बढेका छन् ।

जबरजस्ती करणीसम्बन्धी २०७६-७७ देखि २०८०-८१ को पाँच वर्षसम्म क्रमशः दुई हजार १४४, दुई हजार ५३२, दुई हजार ३८०, दुई हजार ३८७ र दुई हजार ५०७ उजुरी प्रहरीमा परेको छ । डा. थापाले महिला हिंसाविरुद्ध १६ दिनको अभियानभन्दा पनि हरेक दिन वकालत गर्नुपर्ने विषय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “१६ दिनमा चाहिँ विशेष जसरी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा अटेन्सन्, ध्यानाकर्षण गराउनका लागि अलि बढी नै सान्दर्भिक विषयमा मनाउने गरिन्छ । नेपालको कन्टेक्स्ट्मा हेर्ने हो भने मानव अधिकारमा काम गर्ने सङ्घ, संस्थाहरूले नयाँ आयामका रूपमा मनाउँदै गएको छ ।”

उहाँले पछिल्लो समय साइबर अपराध तथा अनलाइनका माध्यमबाट हुने हिंसाबाट असुरक्षा बढेको भनाइ राख्नुभयो । हिंसा न्यूनीकरणका लागि बलियो कानुन, नीति नियम बन्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अनलाइन हिंसा जुन फेक न्युजहरू, अनलाइनबाट बोलेका बोलीहरू यस्तोबाट धेरै महिला हिंसा भएको छ । जसको प्रमाण पनि भेटिँदैन । अझ बढी साइबर क्राइमहरु, यस्तोमा महिला अझ बढी असुरक्षित भएका छन् । त्यसविरुद्ध नेपाल सरकारले अलि स्ट्रङ मेकानिजम्, पोलिसी र कानुनहरू ल्याउनुपर्छ भन्ने आवाजहरू उठिरहेको छ ।”

राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीका अनुसार गत आर्थिक वर्ष आयोगमा २२ सय महिलाको उजुरी परेको थियो । उहाँले विभिन्न प्रकृतिका हिंसामध्ये ८० प्रतिशत घरेलु हिंसा हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिंसाको घटना बढेको भन्दा पनि प्रकृतिअनुसार यो विद्युतीय माध्यमबाट हुने हिंसाका घटनाहरू बढेका छन् । महिला, पुरुष दुवैको संलग्नतामा हुने हिंसाको घटना बढेका छन् ।विभिन्न आधुनिक जीवनशैलीको कारणले मनोरञ्जन क्षेत्रमा श्रम गर्ने महिलामा त्यस्ता हिंसाका घटना बढेका छन् । उजुरीको हिसाबले हेर्दा हिंसाका घटनाका उजुरी बढ्नेक्रममा छ ।”

घरेलु हिंसा, कुटपिट घटना घट्दै गइरहेको छ । जबरजस्ती करणीको घटना चाहिँ घटेको देखिँदैन, बढेको देखिन्छ ।

महिलामा सचेतनाको स्तर बढेकोले गर्दा उजुरी सङ्ख्या बढेको उहाँको भनाइ छ । उहाँले प्रथाजन्य केही हिंसा जस्तै बालविवाह, बहुविवाह भने घट्दै गइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मूल्य, मान्यतामा आधारित हुने बालविवाह, बहुविवाहको कुरा घट्दै गइरहेको छ । घरेलु हिंसा, कुटपिट घटना घट्दै गइरहेको छ । जबरजस्ती करणीको घटना चाहिँ घटेको देखिँदैन, बढेको देखिन्छ ।” उहाँले महिला हिंसाविरुद्धको १६ दिने अभियानजस्ता कार्यक्रमले सचेतना विकासका लागि सहयोग पुग्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “मानवीय दिमागले मनसायपूर्ण गरिने कार्य भन्छ के हिंसालाई । मान्छेको सचेतना विकास गर्नका लागि संसद्, पालिकाहरू सक्रिय भइरहेको हुनाले सचेतना फैलिँदै छ । सोच परिवर्तन गर्नका लागि सचेतनाका कार्यक्रमहरू प्रभावकारी बनेका छन् ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।