• ८ पुस २०८१, सोमबार

गाउँले र खैरे (कथा)

blog

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सबै गाउँले मिलेर बस्थे । एक जना गाउँलेले एउटा बाँदर पालेका थिए । त्यो बाँदरको नाम खैरे थियो । खैरेले त्यो गाउँलेको सबै काममा सघाउँथ्यो । सबैलाई राम्रो व्यवहार गथ्र्याे । कसैलाई जिस्काउने वा बिगार गर्दैनथ्यो । सबैलाई राम्रो व्यवहार गथ्र्याे ।

गाउँलेले मेहनत गरेर काम गर्थे । आफ्नो कमाइ जतन गरी कन्तुरमा राख्थे । एक दिन गाउँलेमाथि धेरै नराम्रो घटना भयो । उनको सबै नोट कसैले च्यातिदिएको रहेछ । गाउँलेलाई खैरेमाथि शङ्का लाग्यो । खैरेले नै त्यो बदमासी गरेको हुनु पर्छ भन्ने उनले अनुमान गरे । उनले खैरेलाई गाली गर्र्दै भने, “खैरे ! तैले यो ठिक गरिनस् । मैले तँबाट यस्तो आशा गरेको थिइनँ । अब तँ यो घरबाट निस्की फेरि आफ्नो अनुहार मलाई नदेखा ।” यसो भन्दै उनले खैरेलाई घरबाट निकालिदिए । 

केही दिन बित्यो र गाउँलेलाई थाहा भयो कि त्यो नोट खैरेले नभई मुसाले पो काटेको रहेछ । यो कुरा थाहा पाएदेखि गाउँलेलाई धेरै पछुतो लाग्यो । उनलाई ‘खैरे कहाँ होला ? के गर्दै होला ?’ भन्ने चिन्ता पनि लाग्न थाल्यो ।

केही दिनपछि पशुपतिनाथमा मेला लाग्यो । गाउँले पनि मेला भर्न पशुपतिनाथ पुगेका थिए । त्यहीँ बेला गाउँलेको आँखा त्यहाँको एउटा रुखमा प¥यो । उनले रुखमा अरू बाँदरसँगै खैरेलाई देखे । ‘खैरे’ भन्दै कराउँदै उनी खैरेनजिक पुगे तर खैरे डराएर भाग्न थाल्यो । 

भाग्दै गर्दा खैरेले फर्की फर्की गाउँलेलाई हेर्दै थियो । गाउँलेले ऊसँग हात जोडेर माफी माग्दै थिए । यो देखेर खैरेको मन पग्लियो र ऊ रोकियो । ऊ फर्किएर गाउँलेकहाँ गयो । उसले गाउँलेलाई माफी दियो । त्यसपछि खैरे गाउँलेसँगै घर फर्कियो र उनीहरू फेरि मिलेर बस्न थाले । आवेगमा निर्णय गर्नुभन्दा अगाडि निकै कुरा सोच्नु पर्छ भनेर गाउँलेले मनमनै सोच्न थाले ।   

 मुना