• ८ पुस २०८१, सोमबार

म मानव बन्न सकुँ (कविता)

blog

स्वरुपा गुरागाईं

कक्षाः  ८, सिद्धार्थ मावि

मकवानपुर, हेटौँडा

भोकाहरूलाई टन्न खुवाउन सकुँ,

आङ ढाकीदिन सकुँ नाङ्गाहरूको,

फुटाउन सकुँ जातीयताको घैँटो,

अनि चुडाउन सकुँ

छोरा र छोरी बिचको भेदभाव,

धनी र गरिब बिचको अन्तर,

शिक्षित र अशिक्षित बिचको हेपाइ,

हिमाली, पाहाडी र तराईवासी बिचको पक्षपात,

रगत रगत बिचको फरक मर्यादा,

उठाउन सकुँ

साराका सारा मानव जातिको शिर,

म मानव बन्न सकुँ ।


मान्छे, मान्छे नै हो,

सबै सम्मान चाहन्छ,

सबै मर्यादामा रमाउँछ,

सबै खुसीका लागि भौँतारिन्छ,

सबै केही न केही सपना सजाएर,

केही न केही गन्तव्य बनाएर,

केही न केही आस्था बोकेर कुदिरहन्छ,

हर मानवको सोचलाई,

तटस्थ भएर सम्मान गर्न सक्ने

म मानव बन्न सकुँ ।


पक्ष लिएर यसको वा उसको

नअल्झिउ म यो वा त्यो मतमा

समस्यामा साथ दिन सकुँ हर कसैलाई

उभिन सकुँ निष्पक्ष भएर,

म मानव बन्न सकुँ ।


भर पर्न नपरोस् कसैको,

भार बन्न नपरोस् कसैको,

आफ्ना रोजाइ र खोजाइ

अनि आफ्नै सिकाइमा टेकेर

बाँच्न सकुँ स्वावलम्बी नेपाली भएर,

उभिन सकुँ मेरो हिमाल झैँ स्वाधीन भएर,

म मानव बन्न सकुँ ।


कसैले धावा बोल्न नसकोस्

मेरो नेपाल आमाप्रति,

कसैले औँला उठाउने हिम्मत गर्न नसकोस्

मेरो देशप्रति,

म रक्षक बन्न सकुँ यो देशको,

म स्वतन्त्र नेपाली बन्न सकुँ

म मानव बन्न सकुँ ।   

 मुना