• ३० वैशाख २०८१, आइतबार

यू–२३ पुरुष बास्केटबलमा रोयलको विजयी सुरुवात

blog

रोयल यु–२३ पुरुष बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ ५ गते । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुवात गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले हरायो । रोयलका रवि पौडेलेले १९ अंक जोड्नुभयो । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।

त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । जेभियरले क्वेस्टलाई ५८–३८ ले हरायो । जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गर्नुभयो । बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८–५० को जित निकाल्यो । बीएमकेका सोनम तेन्जिङले १९ स्कोर गर्नुभयो । 

अन्माइस नेपालविरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ अंक जोड्नुभयो । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । विजेता टिमले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । फाइनल बुधबार हुने छ ।

महिला खुला बास्केटबल  शुक्रबारदेखि

गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ । ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा चार टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल बिहीबार हुने छ ।