• ११ पुस २०८१, बिहिबार

कृषिमा जलवायु परिवर्तनको प्रभाव

blog

जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विषय हो । जलवायु प्रणालीमा आएको परिवर्तनका असर, मानव, जीव, प्रकृति सबैतिर समान रूपमा देखा परिरहेको छ । खास गरी जलवायु परिवर्तनको प्रभावले मानिसका लागि आवश्यक दैनिक खाद्यान्न बालीको संरक्षण, मानव स्वास्थ्यमा देखा परेका समस्या र प्राकृतिक रूपमा पानीका मुहान सुक्दै जाने, अनावश्यक रूपमा सुक्खा, खडेरी, अति वर्षा र बेमौसमी बर्सातका कारण मानव जीवन र सिङ्गो खेती प्रणालीलाई प्रभावित गरिरहेको छ । 

छोटो समय (एक दिन, एक हप्ता तथा तीन महिना) मा हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई मौसम भनिन्छ भने लामो समय (३० वर्षभन्दा बढी) मा हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई जलवायु भनिन्छ । जलवायु परिवर्तनका कारणले गर्दा उत्पन्न हुने खतरालाई जलवायु उत्पन्न प्रकोप भनिन्छ । नयाँ अथवा परिवर्तित वातावरणमा प्राकृतिक तथा मानवीय प्रणालीको समायोजन नै अनुकूलन हो । जलवायुमा उत्पन्न खतराका कारणले हुन सक्ने प्राकृतिक प्रणाली तथा धनजनको क्षति जसबाट समानुकूलित हुनका लागि निकै धनजनको आवश्यकता पर्छ । बाढीपहिराले हुने क्षति, सुनामी, रोगको माहमारी आदि यस अन्तर्गत पर्छन् ।

नयाँ अथवा परिवर्तित वातावरणमा प्राकृतिक तथा मानवीय प्रणालीको समायोजन नै अनुकूलन हो । यस अनुसार प्राकृतिक तथा मानवीय प्रणालीमा जलवायु परिवर्तनका कारणबाट हुने वा हुन सक्ने अपेक्षित असरलाई समायोजन गरी क्षति न्यूनीकरण गर्न सम्भाव्य अवसरको उच्चतम प्रयोग गरिन्छ ।

जलवायु परिवर्तनले पारेका असरलाई कम गरी जीविकोपार्जन, वातावरण र पारिस्थितिकीय प्रणालीलाई साविक प्राकृतिक अवस्था वा सो भन्दा सबल अवस्थामा लैजान गरिने कार्यलाई उत्थानशीलता भनिन्छ । जलवायु परिवर्तन कम गर्न र विकास निर्माण कार्य गर्दा हरितगृह ग्यास उत्सर्जन न्यून गर्दै गरिने विकास कार्यलाई जलवायुमैत्री विकास भनिन्छ ।

जलवायु परिवर्तनबाट वर्षामा आएको परिवर्तनले गर्दा कृषि उत्पादनमा प्रत्यक्ष असर पारेको छ । नेपालका धेरै जसो कृषक धान, मकै र गहुँ लगाउँछन् । मङ्सिरदेखि चैतसम्म हुने औसत वर्षामा कमी आएका कारणले ती बालीमा प्रत्यक्ष असर पुग्न गई सम्पूर्ण देशको कृषि उत्पादनमा नै ह्रास आएको छ ।

जलवायु परिवर्तनले पानीको आपूर्ति र पौष्टिक आहारको उपलब्धतामा कमी आई मानव स्वास्थ्यमा अप्रत्यक्ष असर पार्छ । तापक्रमको वृद्धिसँगै लामखुट्टे, झिँगा र अन्य किरा फट्याङ्ग्राको वृद्धि भई मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगको प्रकोप बढ्दै जाने अनुमान गरिएको छ । जलवायु परिवर्तनले जलचक्रमा नै प्रत्यक्ष असर पु¥याउँछ, जसले गर्दा जलसम्पदामा निर्भर रहेका जलविद्युत्, खानेपानी तथा सिँचाइ परियोजनामा प्रत्यक्ष असर पारेको छ । बढ्दो तापक्रमका साथसाथै डढेलो, नयाँ खालका किरा र जीवाणुले पनि वन विनाशमा थप सहयोग गरिरहेका छन् । सुक्खा, कम पानी पर्ने, बाढीपहिरो तथा भूक्षयका कारणले पनि वनको विनाश हुन्छ । वनको विनाश भएपछि वन्यजन्तुको वासस्थान गुम्ने भएकाले यसको प्रत्यक्ष असर वन्यजन्तु तथा अन्य जैविक विविधतामा पर्छ ।

औसत वर्षा र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरी जस्ता विपत्का घटना बढ्दै गएका छन् । नेपालको सन्दर्भमा नेपाल कृषिप्रधान देश भएकाले देशको अर्थतन्त्र कृषिमा बढी निर्भर रहेको छ । नेपालको जम्मा जनसङ्ख्याको करिब ६०.४ प्रतिशत मानिस कृषि पेसामा आबद्ध रहेको र कृषि मात्रैले देशको कुल गार्हस्थ उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ ।

जलवायु उत्पन्न प्रकोप तथा विपत् जस्तै बाढी, पहिरो, खडेरी आदिले हरेक वर्ष विभिन्न जिल्लामा खेतीयोग्य जमिन बगाएको तथा बाँझो नै छोड्नुपर्ने अवस्था आएका खबर विभिन्न सञ्चार माध्यमबाट सुन्न, पढ्न र हेर्नमा आइरहेको कुरा तपाईं हामीलाई सर्वविदितै छ ।

नेपाल कृषिप्रधान देश भएकाले पनि यहाँको समग्र कृषिप्रणाली अर्थात् खेतीपातीलाई जलवायु परिवर्तनले असर पार्छ । हाम्रो खेती गर्ने तौरतरिका परम्परागत तथा प्रकृतिमा पूर्ण रूपमा निर्भर रहेकाले पनि हाम्रो कृषि क्षेत्रलाई जलवायु परिवर्तनसँग अनुकूल बनाउँदै लैजानु अति आवश्यक छ ।

पानी मानिस र जीवहरूका लागि अति नै आवश्यक प्राकृतिक स्रोत हो । कुनै पनि प्रणाली, प्राणी तथा वनस्पतिको वृद्धिविकासका लागि निश्चित मात्रामा नियमित पानीको आवश्यकता पर्छ । बदलिँदो जलवायुको असरले पृथ्वीमा पानीको अवस्थामा पनि परिवर्तन ल्याएर समग्र कृषि तथा मानिसको जीविकोपार्जनमा असर पु¥याएका उदाहरण हामीले देख्ने र सुन्ने गरेका छौँ । बढ्दो तापक्रम तथा पानी पर्ने प्रक्रियामा आउने अनियमिता (जस्तै खडेरी, बाढी, पहिरो) ले पानीका मुहान सुक्ने र माटोमा पानीको मात्रा सुक्न गई समग्र कृषि उत्पादनमा असर पुगेको पाइन्छ ।

हामी खोलै बग्ने गरी अथवा पोखरी नै जम्ने गरी बालीमा पानी लगायौँ भने बल्ल सन्तुष्ट हुन्छौँ । तापनि धानबाहेक धेरै जसो बालीलाई यसरी पानी जम्ने गरी सिँचाइ गर्नुपर्ने जरुरी हुँदैन । बालीलाई नियमित रूपमा यसका जराको वरिपरि उपलब्ध हुने हिसाबले सिँचाइ गर्न सकियो भने पानीको पनि सदुपयोग र बाली उत्पादन पनि राम्रो हुने हुन्छ । अझ खडेरी तथा अनियमित वर्षाले गर्दा हुने पानीको असहज उपलब्धतालाई पानी जोगाउने प्रविधिको प्रयोग गर्न सकेमा अनुकूलनका लागि टेवा पुग्ने हुन्छ ।

जलवायु परिवर्तनका कारणले गर्दा पानी पर्ने प्रक्रियामा आएको अनियमितताले बाली उत्पादनमा प्रतिकूल प्रभाव पार्ने गर्छ । यस्तो परिस्थितिमा आकासे पानीलाई उचित तवरले सङ्कलन गरी भण्डारण गरेर पानीको आवश्यकता परेको समयमा प्रयोग गर्न सकिन्छ ।

नेपालको धेरै जसो भूभागमा गरिने कृषिकर्म आकासे पानी परेर फुट्ने मूलमा निर्भर रहेका छन् । विगतमा यस्ता पानीका मुहानको संरक्षणका लागि विभिन्न प्रयास भए पनि जलवायु परिवर्तनले भविष्यमा पार्न सक्ने असरलाई ध्यान राखी गरिएको बिरलै पाइन्छ ।

माटोमा रासायनिक मलको प्रयोग कम गरी राम्रोसँग तयार पारेको प्राङ्गारिक मल प्रयोग गरेर प्राङ्गारिक खेती गर्नु पर्छ । प्राङ्गारिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक संरचनालाई मजबुत गराई माटोको पानी अड्याउन सक्ने र खाद्यतत्व अड्याउन सक्ने क्षमतामा वृद्धि ल्याउँछ । यसले गर्दा लामो खडेरी परेको समयमा पनि बालीलाई पानीको अभावबाट हुने असर कम गराउँछ ।

मिश्रित रूपमा धेरै बाली लगाउँदा जलवायु परिवर्तनका कारणले सृजित खडेरी तथा अन्य प्रकोपबाट कुनै एक बालीमा असर परे पनि यी प्रकोपसँग जुध्न सक्ने बालीले त उत्पादन दिने नै भए । यसले गर्दा परिवारको खाद्यसुरक्षामा सकारात्मक प्रभाव पर्छ । भिरालो जमिन अन्न उत्पादनका लागि त्यति उपयुक्त मानिन्न तर पनि बाध्यतावश उत्पादन गर्नु प¥यो भने प्रशस्त खनजोत नगरी खेती गर्न सकिने तरिकामध्ये संरक्षण खनजोत पनि एक हो ।

गुणस्तर ह्रास भएको भूमिलाई सुधार गर्न जमिनको माथिल्लो भागलाई स्थायी घाँस वा कोसे बिरुवाका प्रजातिबाट घना रूपमा ढाक्ने गरी बिरुवा हुर्काउने प्रविधिलाई ढकन बाली भनिन्छ । यसले जमिनको ओसिलोपन बचाई राख्नुका अतिरिक्त माटोको उर्वराशक्तिमा सुधार ल्याउनका निमित्त प्राङ्गारिक पदार्थ थपिन गई माटोको भौतिक, रासायनिक तथा जैविक क्रियाकलापलाई बढाउँछ ।

आफूसँग भएको जग्गामा एकै प्रकृतिको बाली लगाउने गर्नाले कुनै प्रकोप आइहालेमा भोकै बस्नुपर्ने अवस्था आउन सक्छ । हामीले गर्दै आएको खेतीप्रणालीमा विविधता ल्याउन सकेमा जलवायु परिवर्तनको प्रभावसँग सजिलैसँग जुध्न सकिन्छ । स्थानीय रैथाने बाली तथा जात (रोग किरा तथा अन्य बाहिरी प्रकोप सहन सक्ने) को पहिचान, त्यसको अभिलेखीकरण, प्रवर्धन र दिगो उपयोगका तौरतरिकाको पहिचान र त्यसको प्रयोग गरेर समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।

Author

चम्फासिंह भण्डारी