• ८ पुस २०८१, सोमबार

मेलम्चीको मुहानमा तीनतले ‘हेडवर्क्स’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २३ गते । सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ । आयोजनाको अहिलेको ‘हेडवर्क्स’ भुइँ सतहमा रहेको छ । ‘हेडवर्क्स’ भुइँ सतहमा रहँदा बाढीपहिरोले पुरिने र संरचनाहरू बिग्रिने भएकाले तीनतले ‘हेडवर्क्स’ निर्माण गर्न लागिएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वर्षभरि नै वितरण गर्न सहज होस् भन्ने उद्देश्यले मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब निर्माण हुने ‘हेडवर्क्स’ तीन तलाको हुने छ । 

उहाँले भन्नुभयो, “तीनतले ‘हेडवर्क्स’ भएको अवस्थामा बाढीपहिरो वा अरू कुनै कारणले ‘हेडवक्र्स’ को एउटा तह पुरियो भने अर्को तहबाट सुरुङमा पानी पठाउन सकिन्छ । तलको दुई तह पुरियो भने सबभन्दा माथिल्लो तहबाट पानी पठाउन सकिन्छ ।” तीनतले ‘हेडवर्क्स’ निर्माण भएमा वर्षभरि नै पानी वितरण गर्न सकिने उहाँको दाबी छ ।

नयाँ ‘हेडवर्क्स’ अहिलेको मुहानबाट एक किलोमिटर माथि सर्कथली भन्ने ठाउँमा निर्माण गरिने छ । यस ठाउँमा ‘हेडवक्र्स’ निर्माण गरेमा बढीमा सात÷आठ सय मिटर सुरुङ बनाउनुपर्ने हुन्छ । नयाँ ‘हेडवक्र्स’ को संरचना खोलाको बहावलाई कम अवरोध गर्ने खालको हुने उहाँले स्पष्ट पार्नुभयो । 

‘हेडवक्र्स’ लाई पुनः सोही स्थानमा निर्माण गर्नु भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण थप जोखिमयुक्त रहने देखाएकाले नयाँ ठाउँमा ‘हेडवर्क्स’ सार्ने निर्णयमा पुगिएको प्रवक्ता पन्तले स्पष्ट पार्नुभयो । पानीसँग सम्बन्धित संरचनाहरूमा पहिलो ‘गेटवे’ मानिने ‘हेडवक्र्स’ मा पानी जम्मा हुने, थिग्रिने, पानीमा रहेका बालुवा, ढुङ्गालगायतका फोहोर छानिनेलगायतका काम हुन्छन् । 

उहाँले भन्नुभयो, “एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको ‘हेडवक्र्स’ नयाँ ठाउँमा निर्माण गर्न लागिएको हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले यसअघि निर्माण गरिएको ‘हेडवर्क्स’ क्षतिग्रस्त हुँदै आएको छ । जस कारण मेलम्चीको पानी वर्षभरि वितरण गर्न सकिएको छैन ।” 

२०७८ असार १ गते आएको बाढीपहिरोले अहिलेको ‘हेडवर्क्स’ को ९० प्रतिशत भूभाग गेग्य्रानले पुरेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि गेग्य्रान सफा गरी ‘हेडवर्क्स’ सञ्चालनमा ल्याइए पनि फेरि २०८० साउन २७ गते आएको बाढीले ‘हेडवर्क्स’ लाई पुनः क्षतिग्रस्त बनाएको थियो । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पहिलो पटक मेलम्चीको पानी ल्याइएको थियो । 

प्रवक्ता पन्तका अनुसार मेलम्ची खानेपानी आयोजना विकास समितिले नयाँ ठाउँमा ‘हेडवर्क्स’ निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । गत जेठ २४ गतेको मन्त्रीपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’ सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

परामर्शदाता छनोटका लागि बोलपत्र आह्वानपछि २६ वटा कम्पनीले प्रस्ताव पेस गरेका र ती प्रस्तावहरूको प्राविधिक तथा आर्थिक मूल्याङ्कन भइरहेको समितिले जनाएको छ । अहिले प्रस्ताव गरेका कम्पनीहरूको ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (इओआई) को मूल्याङ्कन भइरहेको छ । ‘हेडवर्क्स’ निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ ।