• ८ पुस २०८१, सोमबार

जेसीजकप फुटबल प्रतियोगिताको बिजेता माउन्ट एभरेष्ट

blog

बिजयी टिम पुरस्कार सहित खुशी मनाउँदै । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, मंसिर २२ गते । म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा बेनी सामुदायिक माध्यमिक विद्यालयलाई टाइब्रेकरमा हराउँदै माउण्ट एभरेष्टले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ४ काबिरुद्ध ५ गोल गर्दै माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । 

जितमा माउण्ट एभरेष्टका गोलरक्षक नायक बन्दै बेनी सामुदायिकको एउटा प्राहर रोक्नु भएको थियो । सन् १९९९ मा म्याग्दी जेसीजको स्थापना भएपछि सन् २००० देखि म्याग्दीमा जेसीजकप फुटबल प्रतियोगिताको थालनी भएको थियो । जेसीजको अगुवाइमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको शुरुआत गरेर जेसीजे नयाँ कदम चालेको थियो । 

सोही प्रतियोगिताको २२ औं संस्करणको विजेता माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बनेको हो । म्याग्दी जिल्लामा विद्यालय तहमा निकै लोकप्रिय मानिने जेसीज कप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा जिल्लाका २० विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।

जेसीजकप प्रतियोगितामा विजेता माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले नगद ५२ हजार दुईसय २२ रुपियाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बेनी सामुदायिक माध्यमिक विद्यालयले नगद ३२ हजार दुईसय ३२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता ११ गोलसहित सुनिल थापा, उत्कृष्ट गोलरक्षक बेनी सामुदायिकका सन्दिप खत्री, उत्कृष्ट डिफेन्डर माउण्ट एभरेष्टका मनोज मल्ल हुनुभएको थियो । त्यस्तै, उत्कृष्ट स्ट्राइकर माउण्ट एभरेष्टका सनम बिक, उत्कृष्ट मिडफिल्डर न्यूवेष्ट प्वाइन्टका पवन खत्री, राईजिङ प्लेयर एन्जल थजाली माउण्ट एभरेष्ट तथा उत्कृष्ट प्रशिक्षक माउण्ट एभरेष्ट आवासिय माविका टिपेन पुन हुनुभएको प्रतियोगिताको रेफ्री संयोजक आषिश भुजेलले जानकारी दिनुभयो ।

उत्कृष्ट हुनेलाई जनही दुई हजार पाँचसय रुपियाँ नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा अनुशासित टिम न्यूवेष्ट प्वाइन्ट आवासीय माविलाई ट्रफी, प्रमाणपत्र र नगद पाँच हजार रुपियाँ तथा सेमीफाइनलमा पुगेका न्यूवेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र जनप्रिय माध्यमिक विद्यालय दरवाङलाई नगद पाँच हजार रुपियाँ समेत प्रदान गरिएको जेसीजकप फुटबल प्रतियोगिताका मुल संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो ।