• ८ पुस २०८१, सोमबार

धरानले जित्यो कञ्चनजङ्घा गोल्डकप उपाधि

blog

उपाधि विजेता धरानको गोधुली फुटबल क्लब धरानका खेलाडीलगायत। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २२ गते। सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।

धरानले जितका लागि इलाममाथि ४-१ गोल गरेको थियो। उपाधि जितसँगै धरानको गोधुली फुटबल क्लबले तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कारसहित ट्रफी,पदक र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपियाँ नगदसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता टोलीलाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्।

गएको शनिबार सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए। खेल भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चाालन गरिएको थियो।