• ८ पुस २०८१, सोमबार

ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्छ : सभापति देउवा

blog

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर २२ गते । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । 

शनिबार नेपाली काङ्ग्रेसको कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले अब धेरै ऋण लिएर परियोजना सञ्चालन गर्न सक्ने अवस्था नभएको बताउँदै नेपालले विकासका लागि एडीबी, आइएमएफ आदिसँग ऋण लिएको भए पनि अब धेरै लिन सक्ने अवस्था नरहेको बताउनुभयो । 

बीआरआई सम्झौता सुझबुझपूर्ण ढङ्गबाट भएको बताउँदै प्रधानमन्त्री ओलीले  त्यही ढङ्गले सम्झौता गर्नुभएको बताउनुभयो । एक फरक प्रसङ्गमा सभापति देउवाले एमालेसँग मिलेर स्थायित्वका लागि सरकार निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पार्टी मिल्दा स्थायित्व हुनेमा विश्वस्त छु । प्रधानमन्त्री ओलीले राम्रो काम गर्नुभएको छ । राम्रोलाई राम्रो भन्नुपर्छ । वीआरआइ पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । कुनै समस्या भए छलफलबाट समाधान हुन्छ ।”

काँग्रेस महामन्त्री गगन थापाले चीनबाट बीआरआइ खाका आएपछि धेरै छलफल भएको र नेपालले प्रस्ताव गरेका विषय समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले भनेकै कुरा हुनुपर्छ भन्ने चीन वा नेपालको कुरा भए पनि कतिपय विषय संशोधन भएका छन् ।”

काङ्ग्रेस उपसभापति एवम् पूर्वमन्त्री पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा नेताहरूबिच फरक मत आउन थालेको बताउनुभयो । उहाँले संविधानको मूल कुरा यताउता नगरी समृद्ध बनाउनेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

महामन्त्री थापाले विकासका काम ढिला हुनुको कारण सुक्ष्म रुपमा खोज्नु पर्ने बताउनुभयो । देशमा २०४८ देखि ०५१ मा सबैभन्दा धेरै काम भएको उल्लेख गर्दै उहाँले समुदायसँग पार्टीलाई जोड्ने खालका कार्यक्रम आवश्यक भएको बताउनुभयो । 

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले पुरानो पार्टी आर्थिक रुपमा कमजोर रहेको बताउँदै पार्टीलाई स्थानीयदेखि केन्द्रसम्म पनि आर्थिक रुपमा सवल बनाउनु पर्नेमा जोड दिनुभयो ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको संशोधन गर्न एजेण्डा उठेको भन्दै संघीयता अन्तर्गत भएका काम र तिनका समस्याबारे विश्लेषण हुनुपर्ने बताउनुभयो । संविधान कार्यान्वयन, जनअपेक्षा र पार्टी संगठनमा भएका विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महतले समेत बोल्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले एकताबद्ध, सुसंगठित, हस्तक्षेपकारी कांग्रेस अहिलेको आवश्यकता भएको भन्दै लोकतन्त्र सुदृढ गर्न बलियो कांग्रेस चाहिएको बताउनुभयो ।