• ८ पुस २०८१, सोमबार

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

blog

पर्वत, मङ्सिर २२ गते । जिल्लाको कुस्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ।  

यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् । 

वि.सं. २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । सोही बीउलाई आर्थिक वर्ष २०७६-७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक रु एक करोड ५० लाखसम्म भित्र्याउने गरेका उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेतीतर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गर्नुभयो । जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रीकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदानलगायतमा रु ८१ लाख सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुस्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुङ्गा, पातीचौरलगायत बजारमा खपत हुने गरेको छ ।

गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताउनुभयो । केरा व्यापारी गाडी लिएर केराको बगैँचासम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उहाँले उल्लेख गर्नुभयो ।  

युवापुस्ताको विदेश पलायनसँगै बाझिँदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताउनुभयो । उहाँका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन् । हरेक कृषकले न्यूनतम रु ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।  

कम जनशक्ति, न्यून लागत र एकपटक लगाएपछि वर्षौँसम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताउनुभयो । प्रत्येक कृषकले न्यूनतम पाँचदेखि १० रोपनीसम्म क्षेत्रमा खेती गरिरहेका छन् ।

केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन् । केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुस्मा–१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । 

कृषकलाई गत वर्ष केराको अचार उत्पादनसम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उहाँले बताउनुभयो ।  

कृषकहरू केराखेतीबाट पूर्ण रूपमा आत्मनिर्भर भइनसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग सङ्घीय सरकारसँग गरिएको जानकारी दिनुभयो । केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुनेक्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । रासस