वसन्त पराजुली
नारायणगढ, मङ्सिर २२ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानु पर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता डा. कोइरालाले सरकारमा रहेकाले सहकार्य र बाहिर बसेकाले प्रतिस्पर्धाको नीति लिनुपर्ने धारणा राख्नुभयो ।
“हामीले सरकारमै बसेर पनि सँगै चुनाव लड्यौँ । यो भनेको सहकार्य र प्रतिस्पर्धासँगै जानु भन्ने नै हो”, उहाँले थप्नुभयो, “सरकारमा बस्नेले सहकार्य गर्नुहुन्छ । बाहिर बस्ने हामी प्रतिस्पर्धा गछौँ ।” उहाँले काँग्रेस एमालेमा सहकार्य र प्रतिस्पर्धा जारी रहे पनि सरकार परिवर्तन भने नहुने स्पष्ट पार्नुभयो ।
“अहिले सरकार परिवर्तन हुँदैन । यो सरकारलाई असफल हुने छुट छैन । सरकार लामो समय जाँदैन भन्नु गलत हो”, उहाँले भन्नुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेसँग दुई तिहाइ बहुमत भए पनि उनीहरू मात्रैले संविधान संशोधन गर्न नसक्ने धारणा पनि राख्नुभयो ।
“संविधान सहमतिको दस्ताबेज हो । कांग्रेस एमालेले मात्रै संशोधन गरेर हुँदैन । यसका लागि संसदमा रहेका माओवादी, रास्वपा र मधेसवादी दलहरूको पनि सहमति चाहिन्छ”, उहाँको स्पट भनाइ छ । सरकार अहिले पनि सुशासन कायम गर्न, भष्ट्राचार नियन्त्रण गर्न र देशको आर्थिक अवस्था सुधार गर्न नसकि रहेको आरोप पनि उहाँले लगाउनुभयो । यो गठबन्धनलाई सुधार गर्नुको विकल्प नभएको पनि उहाँको भनाइ छ ।
सरकारी ठगी मुद्दा खेपी रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिनु घटनाले सरकारले थुनुवामाथि मानव अधिकार रक्षा गर्न नसकेको टिप्पणी नेता डा कोइरालाको छ ।