• १९ चैत २०८२, बिहिबार

मधेशका शिक्षामन्त्रीद्वारा एसइई परीक्षार्थीलाई शुभकामना

blog

मधेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारी ।

लक्ष्मी चौधरी
जनकपुरधाम, चैत १९ गते ।
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले बिहीबारदेखि देशभर सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ ।

बिहीबार बिहानदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षा तथा संस्कृतिमन्त्री तिवारीले सबै परीक्षार्थीले उत्कृष्ट सफलता हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले परीक्षार्थीहरुलाई भयमुक्त वातावरणमा आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै सकारात्मक सोच र संयमता अपनाउन सुझाव समेत दिनुभएको छ । शुभकामना सन्देशमा सफलता निरन्तर प्रयास, दृढ सङ्कल्प र आत्मविश्वासको परिणाम हुने उहाँको भनाइ छ ।

उहाँले शुभकामना सन्देशमा एसइई विद्यार्थी जीवनको एक महत्त्वपूर्ण मोड भएको उल्लेख गर्दै यसले केवल शैक्षिक ज्ञान मात्र नभई अनुशासन, धैर्यता, परिश्रम र आत्मविश्वासको समेत मूल्यांकन गर्ने बताउनुभयो । विद्यार्थीहरूले अहिलेसम्म गरेको निरन्तर मेहनत, लगनशीलता र समर्पण नै सफलताको आधार बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, समाज र राष्ट्रको आशा जोडिएको उल्लेख गर्दै आजका विद्यार्थीहरू नै भोलिका सक्षम नागरिक र राष्ट्र निर्माणका आधार स्तम्भ हुने बताउनुभयो ।

यसैगरी, परीक्षामा सहभागी विद्यार्थीहरूलाई उचित सहयोग र मर्यादित वातावरण सुनिश्चित गर्न प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सम्बन्धित सबै निकायलाई पनि उहाँले अनुरोध गर्नुभएको छ ।