• २७ पुस २०८१, शनिबार

विपिन जोशीलाई छुटाउने प्रयास जारी छ : राजदूत आरीबास

blog

नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक आरीबास सञ्चारकर्मीसँग छलफल गर्नुहुँदै ।

राधा चालिसे 

काठमाडौं, मङ्सिर २१ गते । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक आरी बासले हमास समूहले इजरायलबाट लगेर बन्धक बनाएका नेपाली युवक विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताउनुभएको छ । 

काठमाडौंस्थित राजदूत निवासमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो । गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा  त्यहाँँ कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । केही घाइते भएकाहरुको उपचार भएर स्वदेश फर्केका छन् । तर विपिन जोशीको अवस्था अझै अज्ञात छ । 

राजदूत श्मुलिकले हमासले बन्धक बनाएका जोशीलगायत इजरायली र अन्य मुलुकका १०० जनाको अवस्था बुझ्न र फर्काउन इजरायली सरकारले निरन्तर प्रयास गरिहेको बताउनुभयो । उहाँँले भन्नुभयो, ‘‘इजरायललाई प्राप्त सूचनाअनुसार बन्धक बनाइएकाहरु अन्य व्यक्तिहरुसँगै विपिन जोशी  छन् । उनीहरुलाई कहाँ कुन अवस्थामा राखिएको छ । त्यो जानकारी अझै भएको छैन ।’’ 

उहाँले इजरायलमा कृषि क्षेत्रमा सिक र कमाउ कार्यक्रम अन्तर्गत पुगेको नेपाली विद्यार्थीमध्ये हमास आक्रमणमा परेर ज्यान गुमाएका अन्य १० जना नेपाली युवाका परिवारलाई इजरायली सरकारले त्यहाँका जनतासरह नै मासिक भत्ताको व्यवस्था गरेको पनि बताउनुभयो । 

उहाँले पछिल्लो केही दिन यता इजरायल र लेबनानबिचको युद्ध केही मत्थर हुँदै गएकाले छिट्टै युद्धविराम गरेर अगाडि बढ्न सक्ने अपेक्षा आफूहरुले गरिरहेको पनि बताउनुभयो । उहाँले इजरायलको अस्तित्व नै समाप्त गर्न चाहने हमासजस्ता समूहबाट भने सधै सशङ्कित रहेको बताउनुभयो । 

उहाँले इजरायलमा कामदारको ठुलो खाँचो रहेकाले त्यहाँको वातावरण शान्त हुनेबित्तिकै नेपाली युवालाई जीटूजी अन्तर्गत नै लैजान तयार भएको पनि स्पष्ट पार्नुभयो । इजरायल जाने प्रक्रियामा रहेका करिब दुई हजार नेपाली युवाको प्रक्रिया छिट्टै पूरा हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘नेपालबाट कामको लागि इजरायल पुग्नेहरु निश्चित समयपछि राम्रो सीप र रकम लिएर स्वदेश फर्कनेछन् । अन्य देशमा जस्तो त्यहीं बस्ने भन्ने हुँदैन । इजरायलले दोस्रो मुलुकबाट लैजाने श्रमिकहरुलाई इजरायली सरह नै सेवा सुविधा दिने गर्छ । कुनै विभेद गर्दैन ।”