• २६ पुस २०८१, शुक्रबार

मदिराको लतले राउटेको अस्तित्व सङ्कटमा

blog

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, पुस २६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे पछिल्लो समयमा नेपालका नागरिक हौँ भनेर गर्व गर्न थालेका छन् । वनको राजा भन्ने र राज्यले स्थायी बसोबासका लागि पहल गर्दासमेत समुदायको छेउछाउमा बस्न नमान्ने समस्याका कारण पछिल्लो समय राउटे समुदाय सङ्कटोन्मुख छ । 

अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमी जस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसङ्ख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । हाल राउटे समुदाय सुर्खेतको गिरीघाटमा बस्दै आएका छन् । 

राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जङ्गलमा बस्छन् । उनीहरू कहिले जङ्गलका छेउ त कहिले पहाडको खोँच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णालीको गहनाका रूपमा चिनिने राउटे फिरन्ते जाति हो ।  

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते हुनुभयो । उहाँको काठमाडौँसम्म पुर्‍याएर उपचार गरिएको थियो तर आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उहाँले मदिराको सहारा लिनुभयो । नियमित अत्यधिक मदिरा सेवनले उहाँलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाउनुभयो । मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही । बजारमा पाइने लिची जस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाउनुभयो । त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे युवामा मदिरा सेवनको असर देखिएर मृत्यु हुने गरेको छ । 

जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ । उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्दै आएका थिए तर पछिल्ला वर्षमा भने बजारमा पाइने कमसल गुणस्तरको मदिराका पारखी बनेका छन् । बालबालिकादेखि बुढापाकामा मदिरा सेवनको लत बढ्दै गएको छ । अत्यधिक मदिरा सेवनका कारण भिरबाट लडेर मृत्यु हुने क्रम बढेको छ । राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बजारको कमसल गुणस्तरको मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “राउटेको मदिरा सेवनको लत बन्द गर्नु पर्छ । सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षाभत्ता दिँदा सरकारले अन्य विकल्प खोज्नु पर्छ । पहिले राउटेहरू गिठा, भ्याकुर, तरुललगायतका जङ्गली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पुर्‍याएको छ । त्यसका लागि राज्यले विशेष नीति अवलम्बन गर्न आवश्यक छ ।” 

सङ्घीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५/६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । हाल राउटे समुदायमा प्रतिव्यक्ति मासिक चार हजार रुपियाँ भत्ता पाउँछन् । भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा लट्ठ हुन्छन् । राउटे समुदायका नागरिकले भत्ताको रकम सबै रक्सी, सुर्ती र चुरोटमा खर्चिने गरेका छन् । 

राउटे महामुखिया सूर्यनारायण शाहीले आफ्नो समुदाय रक्सीको कुलतमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हामी आफैँले बनाएको जाँड खान्थ्यौँ, अहिले त सबै बजारका रक्सी खान्छन् । महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके ।” बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिने बित्तिकै मर्न थालेको उहाँको भनाइ छ । 

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २७ शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्याङ्कमा २०७५ साउनदेखि २०७८ मङ्सिरसम्म २६ जना शिशु जन्मिएका छन् । 

पाँच वर्षको अवधिमा जन्मिएका २७ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् । यसले राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउनुभयो । उहाँका अनुसार राउटेको बसाइँ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् । 

राज्यले वासस्थानको प्रबन्ध गर्छौं भन्दा नमान्ने कारण राउटे समुदायको जनसङ्ख्यासमेत घट्दै गएको छ । २०७५ सालमा राउटे परियोजना सुरु हुँदा राउटेको जनसङ्ख्या १४७ थियो भने अहिले १३७ मा झरेको छ । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दाको परिचयपत्रसमेत दिएको र नियमित सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्ने गरेकाले उनीहरूले मानेको खण्डमा गुराँसमै राख्न सकिने बताउनुभयो । उहाँले अन्य समुदायको सहज पहुँच नहुने ठाउँमा राउटेको बस्ती राख्न तयार रहेको बताउनुभयो ।