सर्लाही समाचारदाता
सर्लाही, वैशाख ८ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ सर्वसुलभ रूपमा बिक्री गर्ने उद्देश्यले डिडिसीले प्रदेशभरमा पहिलो पटक सर्लाहीको लालबन्दीमा साझेदारी पसल सञ्चालनमा ल्याएको हो । लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा लक्ष्मी इन्टरप्राइजेजसँग समन्वय गरी स्थापना गरिएको साझेदारी पसलको आइतबार बिहान मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीले उद्घाटन गर्नुभएको छ ।
दुग्ध विकास संस्थान जनकपुर अन्तर्गत दुग्ध वितरण आयोजना ढल्केबरका आयोजना प्रमुख दिनेशकुमार जोशीले लक्ष्मी इन्टरप्राइजेजलाई विक्रेता नियुक्त गरी यस क्षेत्रमा डिडिसीले उत्पादन गरेको दुध तथा दुग्धजन्य सामग्रीको बिक्री बढाउने उद्देश्यले साझेदारी पसल खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानको तर्फबाट साझेदारी पसललाई दुई थान फ्रिजसमेत उपलब्ध गराइएको छ ।
डिडिसीले कुनै मिसावट नभएको र नेपाल सरकारको मापदण्डभित्र रहेर तयार पारेको दुध, दही, घिउ, पनिर, लालमोहन, रसबरी, लस्सी, खुवालगायतका दुग्धपदार्थ ‘होम डेलिभरी’ र साझेदारी पसलमार्फत बिक्री गर्ने नयाँ अवधारणा ल्याएको हो । साझेदारी पसलको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बेची लुङ्गेलीले स्थानीय व्यवसायी र गुणस्तरीय दुग्धजन्य सरकारी उत्पादनलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
डिडिसीसँग समन्वय गरी साझेदारी पसल सञ्चालनमा ल्याउनुभएका लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक प्रकाश मानन्धरले डिडिसीसँगको साझेदारीमा सरकारी दुग्धजन्य उत्पादन बिक्री गर्ने अवसर पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।