जनार्जन खत्री
सर्लाही, पुस २६ गते । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलरामा शुक्रबार दिउँसो एक जना किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर (पात) जलाउँदा छिमेकीको खेतमा काट्न बाँकी रहेको उखु जलेर नष्ट भएको छ ।
बलरा नगरपालिका –९, बस्ने शङ्करराय यादवले खेतमा उखुको पात जलाउन बालेको आगो सल्किएर छिमेकी (सँधियार) निरज सिंह र पङ्कज सिंहको १२ कठ्ठाको उखु जलेर सखाप भएको हो । आगलागीबाट एक लाख ५० हजार रुपियाँ बराबरको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ ।
शुक्रबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी स्थानीय किसान, गाउँले, इलाका प्रहरी कार्यालय बलरा र इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको प्रहरी टोलीको सहयोगमा करिव डेढ घण्टापछि नियन्त्रणमा आएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
सर्लाहीमा यसरी बारम्बार उखुको पत्कर जलाउने क्रममा छिमेकीको भित्र्याउन बाँकी रहेको उखु तथा अन्य बालीमा आगो सल्किएर क्षति पुगिरहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।