• २७ पुस २०८१, शनिबार

अग्रजको योगदान र समर्पणले परिवर्तन सम्भव : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य शालिक अनावरण कार्यक्रममा ।

रमेश विश्वकर्मा

गुल्मी, पुस २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रजहरुको योगदान र समर्पणले नै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५, कालिकास्थान वस्तुमा पूर्वसांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गर्नुहुँदै मुख्यमन्त्री आचार्यले दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरुले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणका लागि नयाँ पुस्ताले योगदान गर्नुपर्ने बताउनुभयो ।

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले भावीपुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान गर्न जरुरी रहेको बताउनुभयो । धुर्कोटको समग्र विकासका लागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसकिने भन्दै उहाँले अग्रजहरुले धुर्कोटमा शिक्षाको उज्यालो छर्ने काम गर्नुभएको बताउनुभयो । स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।