बुटवल समाचारदाता
बुटवल, मङ्सिर २१ गते । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवललाई उज्यालो सहर बनाउने अभियान थालिएको छ । बुटवलको मुख्य मुख्य चोकमा २३ वटा ‘हाइमास्ड लाइट’ जडान गरी उज्यालो सहर बनाउने अभियान थालिएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित सहरका रूपमा विकास गर्ने उद्देश्यले २३ वटा हाइमास्ड लाइट तथा सिसिटिभी जडान गर्ने काम भइरहेको बताउनुभयो ।
हाइमास्ड लाइटसँगै बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यसमेत सुरु भएको छ । बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित कालिका चोकमा ट्राफिक लाइट जडान कार्य सुरु भएको हो ।
उपमहानगरपालिकाले आफ्नो लगानीमा बुटवलको बढी भिडभाड हुने कालिकानगरस्थित कालिका चोक, मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगरप्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गरिने बताउनुभयो ।
सडक सुरक्षालाई ध्यानमा राखी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको समेत जनाएको छ । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भूमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनुभयो । बुटवलको कालिका चोकमा विगतमा धेरै दुर्घटना भएको भन्दै उहाँले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
उपमहानगरपालिकाको योजना अनुसार ५५ लाख पाँच हजार रुपियाँको लागतमा कालिका चोकसँगै मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टिपर्पोज प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको छ । यसै गरी बजारको सुरक्षाका लागि करिब ५२ लाख रुपियाँको लगानीमा बुटवलको वडा नं. ४, ५, ६ र ९ को बसपार्क क्षेत्रमा १२५ वटा सिसिटिभी क्यामरा जडान गर्ने कार्य भइरहेको छ ।
ट्राफिक लाइट जडान गर्ने काम तीन महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । बुटवलका नगरप्रमुख पाण्डेयले देशकै मध्यभागमा अवस्थित बुटवल सहरलाई उज्यालो, सफा, स्वच्छ, सुन्दर र हराभरा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अनुसार मुख्य राजमार्गमा विशेष सरसफाइ अभियान चलाइएको बताउनुभयो ।