वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, मङ्सिर २१ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडकखण्डमा पर्ने बाघखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बगुवाखोलामा पुल निर्माण गर्न थालिएको छ । दुवै पुल निर्माण भएसँगै बर्सौंदेखि वर्षायाममा यात्रुले खेप्दै आएको सास्ती अन्त्य हुने भएको छ ।
मदन भण्डारी राजमार्गको वराहक्षेत्र–१ मा रहेको बाघखोलामा ६० मिटर लम्बाइ र ११ मिटरभित्र दुवैतर्फ पेटीसहितको पुल निर्माण अन्तिम चरणमा पुगेको पुल निर्माणमा खटिएका ठेकेदार कम्पनीका प्रतिनिधि दीपक श्रेष्ठले बताउनुभयो । सूर्य एन्ड सन्स निर्माण कम्पनीले २२ करोड रुपियाँमा भ्याटसहित ठेक्का पारेर धरानदेखि चतरासम्म चार वटा पक्की पुल निर्माणको काम गर्दै आएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बगुवाखोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण सुरु गरिएको छ ।” धरानदेखि चतरा सडकमा रेलवेखोला, ठकुरीखोला, बगुवाखोला र बाघखोलामा पुल निर्माण हुने छन् ।
भोजपुर, खोटाङ, उदयपुरका स्थानीयले स्वास्थ्य, शिक्षा र कृषि उपज बिव्रmीवितरण गर्न धरान बजार जाने सडकखण्डमै पुल नहुँदा बर्साैंदेखि वर्षामा सास्ती खेप्दै आएका स्थानीय जनप्रतिनिधि कुमार भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल सुचारु भएपछि सडकखण्डमा यात्रा गर्नेले सास्ती बेहोर्नु परेन । बर्खामा बाघखोला तर्दा मानवीय क्षतिसमेत हुँदै आएको थियो ।” बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हँुदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम भइरहेको छ ।