• १३ साउन २०८१, आइतबार

प्यूठानमा काँग्रेस र माओवादीकाे तीन/तीन, एमालेकाे दुई र जनमाेर्चाकाे एक पालिकामा विजय

blog

सलिम अन्सारी 

प्यूठान, जेठ ५ गते । प्यूठानका नौ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दस वडासहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ। 

कुल ६४ मध्ये २० वडामा जित्दै एमालेले २ वटा पालिकामा प्रमुख उपप्रमुखमा वर्चस्व कायम गर्यो भने राष्ट्रिय जनमोर्चाले १ प्रमुख र २ उपप्रमुख जितेको छ । १० वडामा राजमोले र स्वतन्त्र तर्फका उम्मेद्वारले २ वटा वडामा जितेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो । 

प्यूठान नगरपालिकामा गठबन्धनबाट माओवादीका विष्णु योगी मेयरमा र काँग्रेसका देवेन्द्र बर्मा उपमेयरमा निर्वाचित हुनुभएको छ।

योगीले ९ हजार ३२३ र बर्माले ९ हजार ४९० मत ल्याएर विजयी हुनुभएको हो । 

मल्लरानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का र उपाध्यक्षमा  काँग्रेसका रमेश श्रेष्ठले जित्नुभएको छ । खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गर्दा  श्रेष्ठले ३ हजार ३ सय ९१ मत पाउनुभयो ।

माण्डवी गाउँपालिकामा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मतका साथ अध्यक्षमा विजयी हुनुभएको छ। यसअघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउँदै गठबन्धनको तर्फबाट अधिकारी विजयी हुनुभयो । 

स्वर्गद्वारी नगरपालिकामा गठबन्धनको तर्फबाट काँग्रेेसका टेकप्रसाद भण्डारीले ७ हजार ७२६ मत ल्याउँदै  मेयरमा विजयी हुनुभयो । त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मीनराज रानाले ७ हजार ३७७ मत प्राप्त गर्नुभयो  ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी हुनुभयाे । यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका विश्वकर्माले ४ हजार २८० मत प्राप्त गरी विजयी हुनुभएको हो । एमालेकी बसन्ता खड्काले ४३ सय ९४ मत ल्याउँदै उपाध्यक्ष पद जित्नुभयो ।

ऐरावती गाउँपालिकाको अध्यक्षमा यसपालि पनि काँग्रेसका नविलविक्रम शाह विजयी हुनुभएको छ । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभयो । 

यस्तै, नौबहिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । डिलबहादुर थापाले ६ हजार ४८५ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गर्नुभयो । त्यस्तै, विष्णा थापाले ६ हजार २६३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभयो । 

राजमोको किल्लाका रुपमा रहेको झिमरुकमा यसपाली माओवादीले हात पारेको छ।

प्यूठानको झिमरुक गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर एमसी र पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका प्रमोद पोखरेल विजयी हुनुभयाे । 

माओवादी प्यूठानका संयोजक समेत रहेका एमसीले ५ हजार ९२९ मत पाएर विजयी भए । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्टिय जनमोर्चाका टीका जिसीले ५ हजार ६९६ मत पाउनुभयाे । 

पालिका उपाध्यक्षमा पराजित एमालेकी बिष्णा घर्तीले ४ हजार ५६२ मत पाउनुभयाे । झिमरुकमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । त्यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

गौमुखी अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

त्यस्तै, गौमुखी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका विष्णुकुमार गिरी र उपाध्यक्षमा माओवादी केन्द्रका महावीर राना निर्वाचित हुुनुभयाे। दोश्रो कार्यकालका लागि गिरी निर्वाचित हुनुभयाे।

काँग्रेस प्यूठानका सभापति समेत रहेका गिरीले ३ हजार ६४९ मत पाएर विजयी हुनुभयाे  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका  जुमानसिं जिसीले २ हजार ८ सय मत पाउनुभयाे । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले २ हजार ६२९ मत प्राप्त गर्नुभयाे।

पालिका उपाध्यक्षमा विजयी रानाले ४ हजार ३४६ मत ल्याउनुभयाे भने उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेकी ज्ञानुमाया केसीले ३ हजार ३० मत र राष्ट्रिय जनमोर्चाकी तारा पुरीले १ हजार १९७ मत ल्याउनुभयाे।

पराजित एमालेकी ज्ञानुमाया केसीले ४ हजार ५६२ मत पाउनुभयाे । गौमुखीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।