• ८ पुस २०८१, सोमबार

होमस्टे बढे, पुग्दैनन् पर्यटक

blog

होमस्टे सञ्चालनसम्बन्धी तालिममा सहभागी महिला । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, मङ्सिर २१ गते । पाल्पाका विभिन्न स्थानमा सञ्चालित घरबास (होमस्टे) ले पर्यटक आकर्षित गर्न सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा होमस्टेको सङ्ख्या थपिँदै गए पनि तिनले पर्यटक आकर्षित गर्न सकेका छैनन् । 

जिल्लाको पूर्वखोला, रम्भा, तिनाउ, तानसेन र निस्दीमा स्थानीय पालिकाको उत्प्रेरणा र सहयोगमा होमस्टे सञ्चालनमा आएका छन् । जिल्लाका पाँच स्थानमा सञ्चालित होमस्टेमा वर्षभरिमा दुई हजार पनि आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन् । 

जिल्लाभर हाल पाँच वटा होमस्टेमा सञ्चालन भए पनि वर्षभरिमा मुस्किलले एक हजार पर्यटक पुग्ने गरेका छन् । सुरुमा पर्यटक होमस्टेमा पुगे पनि पछि पुनः फर्केर जान सकेका छैनन् । होमस्टेमा पर्यटकले सोचे अनुसारको मौलिकता, मनोरञ्जन, बसाइ, खानपिन तथा अन्य सेवा पाउन नसकेको प्रतिक्रिया दिने गरेका छन् । 

होमस्टेमा जाने सडक पूर्वाधारका कारण पनि ती स्थानमा पर्यटक पुग्न नसकेको पुराना पर्यटन व्यवसायी मनमोहन श्रेष्ठले बताउनुभयो । होमस्टेमा आफ्नै मौलिक संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका खाजाखानाको व्यवस्था, सरसफाइ तथा मौलिक दृश्यावलोकन स्थल बनाउन नसकेको उहाँले बताउनुभयो । 

जिल्लाका तानसेन नगरपालिका, तिनाउ, रम्भा, माथागढी र पूर्वखोला गाउँपालिकाले होमस्टे सञ्चालनका लागि हरेक वर्ष रकम खर्च गरेका छन् । होमस्टे सञ्चालनका लागि तानसेन नगरपालिकाले बौघागुम्हा र छापगाउँमा लगानी गरेको छ । यस्तै तिनाउले जन्तीलुङ, माथागढीले ओलेस, पूर्वखोलाले जल्पा ढोलीमारा, रम्भाले फोक्सिङ्कोट र निस्दीले खाँदरमा लगानी गरेको छ । 

पालिकाले स्थानीय समूहका मानिसलाई होमस्टेबारे तालिम दिने, बिउपुँजी दिने, होमस्टे सञ्चालनको सिकाइका लागि भ्रमणमा लैजाने गरेको छ । पालिकाले हरेक वर्ष जसो लगानी गरे पनि पाल्पाका कुनै पनि स्थानमा होमस्टे निरन्तर र व्यावसायिक रूपमा चल्न नसकेको संस्कृतिका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । एक पटक आउने पर्यटकले खानपिन, सरसफाइ, मौलिक संस्कृति राम्रो रहेछ भन्ने नहुँदासम्म होमस्टे निरन्तर सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ । 

एक दशकअघिदेखि जिल्लाको बौघागुम्हामा सञ्चालन भएको होमस्टे अहिले बन्द हुने अवस्थामा छ । पर्यटक पुग्न नसकेपछि नियमित सञ्चालनमा कठिनाइ भएको स्थानीय बासिन्दा टुकबहादुर थापाले बताउनुभयो ।