भैरहवा समाचारदाता
भैरहवा, मङ्सिर २१ गते । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब पाँच हजार यात्रुले सेवा लिएका छन् ।विमानस्थल प्रशासनका अनुसार भैरहवाबाट विदेश उड्नेभन्दा विदेशबाट भैरहवा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार नोभेम्बर ३ (कात्तिक १८) देखि डिसेम्बर ३ (मङ्सिर १८) सम्म चार हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय उडानको सेवा लिएका हुन् ।
एक महिनामा भैरहवाबाट दुई हजार २३८ यात्रु विदेश उडेका छन् भने दुई हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल प्रशासनले जनाएको छ ।
भैरहवामा आयोजित मन्त्रीस्तरीय छलफलका क्रममा महाप्रबन्धक तिवारीले एक महिनाको अवधिमा जजिरा एयरले सबैभन्दा धेरै यात्रुलाई सेवा दिएको बताउनुभयो । उहाँका अनुसार जजिराले तीन हजार ३४ जना यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।
दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले एक हजार १३२ यात्रुलाई सेवा दिएको छ । सबैभन्दा धेरै उडान भने फ्लाई दुबईले गरेको छ । त्यस्तै थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको छ ।
विमानस्थलमा सिधा उडान गर्ने एयरलाइन्सको उडान अवतरण सङ्ख्या कम भए पनि काठमाडौँसँग जोडेर उडान गरिरहेका एयरलाइन्सको भन्दा धेरै यात्रु बोकेको उहाँले जानकारी दिनुभयो । पर्यटकीय उद्देश्यले भन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको थियो ।
गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए पनि विदेश जाने यात्रुका लागि आवश्यक प्रक्रिया पूरा गर्न श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीका कार्यालय स्थापना भएका छैनन् । पर्यटनमन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
श्रममन्त्री भण्डारीले यात्रुका लागि सहज रूपमा मेडिकल जाँच र वैदेशिक रोजगार सेवाको व्यवस्था गरी श्रम स्वीकृतिलाई सहज बनाउन सरकारले तयारी गरिरहेको बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्पका रूपमा मात्रै नभएको भन्दै यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने उहाँले बताउनुभयो ।
श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा कानुनी व्यवस्थामा गर्नुपर्ने परिमार्जनलगायतका प्रक्रियासमेत अघि बढेको जानकारी गराउनुभएको थियो ।
छलफलमा सहभागीले विमानस्थलको दिगो सञ्चालनमा जोड दिँदै भैरहवाबाट सिधा उडानलाई प्राथमिकता दिनुपर्ने, न्यून भिजिबिलिटीमा अवतरणको विकल्प प्रणालीको अवलम्बनलगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।