काठमाडौँ, मङ्सिर २१ गते । मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् । मलेसियामा राजदूत नियुक्त नहुँदा मलेसियाका सेवा क्षेत्रबाट नेपालीका लागि आएका माग गुमाउनु परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका हुन् ।
आन्तरिक समस्या देखाउँदै केही समयका लागि आप्रवासी श्रमिक लिन बन्द गरेको मलेसिया सरकारले गएको असोजदेखि उत्पादन क्षेत्रबाहेक अन्य क्षेत्रमा आंशिक श्रमिकको माग गर्न थालेको जनाइएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले आंशिक रूपमा कृषि, प्लान्टेसन, मार्ट तथा सुरक्षा गार्डलगायत क्षेत्रमा आप्रवासी श्रमिकको माग आएको तर प्रमाणीकरण नहुँदा पठाउन नसकिएको जानकारी दिनुभयो । राजदूत नभएकाले मागपत्र प्रमाणीकरणका लागि राजदूत नै चाहिने भनेर लगभग तीन लाख माग रोकिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार श्रमिक पठाउन नेपालसँग प्रतिस्पर्धी बङ्गलादेश, फिलिपिन्सलगायतका देशले खुला भएका क्षेत्रमा श्रमिक पठाउन थाले पनि नेपालले अवसर सदुपयोग गर्न सकेका छैन । डेढ वर्षअगाडिसम्म मलेसिया नेपालीको प्रमुख गन्तव्य थियो । अहिले ठप्प भएको छ ।
मलेसियाले आंशिक रूपमा केही क्षेत्रमा मात्रै आप्रवासी श्रमिक लैजान थाले पनि पूर्ण रूपमा भने खुलाएको छैन । यसअघि यही डिसेम्बरसम्म सबै क्षेत्रमा आप्रवासी लैजाने अनौपचारिक कुरा सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगार विभागले पनि मलेसिया कहिलेदेखि पूर्ण रूपमा खुला हुन्छ भन्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मलेसियामा आंशिक खुलाएको कुरा आए पनि पूर्ण कहिले खुल्छ भन्ने कुनै जानकारी नभएको बताउनुभयो ।
मध्यपूर्वका मुलुक (खाडी) को तुलनामा मलेसियामा श्रमिकको पारिश्रमिक र अन्य सेवा सुविधा पनि राम्रो भएकाले धेरै युवाको रोजाइमा पर्ने मलेसिया पर्छ । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरिसकेको छ । १ फेब्रुअरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाएर एक हजार सात सय रिङ्गिट पु¥याएको छ । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक पाँच सय रिङ्गिट छ । मलेसियाले पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने १ अगस्ट २०२५ देखि नयाँ पारिश्रमिक लागु हुने छ ।
औद्योगिक तथा उत्पादन प्राविधिकको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिङ्गिट छ । मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिङ्गिट तलब छ ।
मलेसियाले तलब बढाउने निर्णय गरेपछि धेरै जसो नेपाली श्रमिक कहिले मलेसिया खुला होला र जाने भनेर पर्खाइमा छन् । कतिपय कतार, साउदीलगायतका मुलुकबाट फर्केरसमेत मलेसिया जाने तयारीमा छन् ।
विभागको तथ्याक अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख तीन हजार नेपालीले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । आव २०७९/८० मा दुई लाख ५९ हजार नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए । उक्त वर्ष मलेसियाका लागि नै सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार हाल मलेसियामा चार लाखभन्दा धेरै नेपाली रहेको अनुमान छ । नेपाल र मलेसियाबिच २०७५ सालमा मलेसिया जाने श्रमिकले कुनै पनि शुल्क तिर्नु नपर्ने गरी श्रम सम्झौता भएको छ ।