• ८ पुस २०८१, सोमबार

स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने

blog

धनगढीमा रहेको सुकटी नाला । तस्बिरः धनगढी उपमहानगरपालिकाको कार्यालय

अविनाश चौधरी

धनगढी, मङ्सिर २० गते । कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो । स्याटेलाइट प्रविधिको सहयोगमा पुराना अतिक्रमण हटाउन सहज हुने जनाएको छ । यसैगरी, नयाँ अतिक्रमण पनि रोकिने बताएको छ । 

स्याटेलाइटको प्रयोगले खोलाको क्षेत्राधिकार निगरानीका लागि खोला किनारमा पोलहरू गाड्न थालिएको छ । कसैले पोल सारेमा बाढीले बगाएमा स्याटेलाइट प्रविधिबाट निगरानी गर्न सकिने जनाइएको छ । 

नगर उपप्रमुख कन्दकला राना थारुले पोल गाड्ने कार्यको उद्घाटन गर्नुभयो । सुरुमा सुकुटी खोलामा पोल गाडिएको छ । नगरभित्र नक्साअनुसार खोलानालाको सिमाङ्कन र रेखाङ्कन गर्ने कामसँगै खोलानालाको सिमाना प्रस्ट हुनेगरी पिल्लर गाडेर सो बिन्दुहरूको जिआइएस नक्साङ्कन गर्ने जनाइएको छ । 

डिजीपीएस र स्याटेलाइटको तस्बिर प्रयोग गरी खोलानालाको सिमाना निगरानी गर्ने नगर प्रमुख गोपाल हमालले बताउनुभयो । धनगढी उपमहानगरपालिकाले हालसम्म खोलानालामा भएको पाँच किलोमिटर अतिक्रमण खाली गरिसकेको जनाएको छ ।