• ८ पुस २०८१, सोमबार

१८ जना अपाङ्गता भएका व्यक्तिलाई 'ह्वील चेयर' वितरण

blog

अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डल ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, मङ्सिर २० गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा नगरपालिकाका १८ जना अशक्त अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरेको छ।

मटिहानी नगरपालिका वडा नं. ३ का ५६ वर्षीय शुभनारायण साहले ह्वील चेयर पाएपछि खुशी व्यक्ति गर्नुहुँदै चेयर अभावमा आवश्यक काम पर्दा बाहिर जान धेरै अप्ठयारो हुने गरेको बताउनुभयो । उहाँले ह्वील चेयर पाएपछि आफ्नो काममा केही सहजता आउने बताउनुहुँदै नगरपालिकालाई यस कार्यको लागि धन्यवाद दिनुभयो ।

केही दिनदेखि भारतको अयोध्याबाट आएका जन्तीहरुको स्वागतमा व्यस्त रहनुपरेका कारणले नगरपालिकाले ३३ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउन पाएको थिएन ।

नगरप्रमुख हरिप्रसाद मण्डलले लैङ्गिक हिंसा दिवसको १६ दिने अभियान चलिरहेकोले दुई दिन ढिला भए पनि नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा पालिकाभित्रका १८ जना शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरिएको हो । नगरप्रमुख मण्डलले अपाङ्गता भएका व्यक्तिहरुलाई समेत आफ्नो काममा सहयोग हेतुले चेयर वितरण गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा मटिहानी नगरपालिका अपाङ्ग समन्वय समितिका अध्यक्ष एवम् नगर उपप्रमुख मञ्जुदेवी साह, वड़ा नं. ६ का वडाध्यक्ष कलीम अंसारी, वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझी, वडा नं. ८ का वड़ाध्यक्ष मदन चौधरी, लोसपा केन्द्रीय सदस्य रामकुमार मण्डल, नगर अध्यक्ष श्यामकुमार मण्डल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख दीपा दासलगायतका वक्ताले अपाङ्गहरुको समस्याबारे मन्तव्य राख्नुभएको थियो ।