• २७ पुस २०८१, शनिबार

गाई सुत्केरी भए १० हजार अनुदान

blog

सत्यवती गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर २० गते ।
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भए १० हजार रुपियाँ अनुदान दिने भएको छ । पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ । उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई १० हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान स्वरुप कृषकलाई प्रदान गरिनेछ । उक्त अनुदान लिनका लागि असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई वाली भएको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्नेछ ।

अनुदान लिनका लागि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पस्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा कृषकको बैंक खातामा सिधै रकम भुक्तानी गरिने भुसालले बताउनुभयो ।

सत्यवती गाउँपालिकामा १२ वटा समूहका दुई सय दुई जना कृषकहरुले मासिक ३३ हजार लिटर दुध बिक्री गर्ने गरेको पशुसेवा शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो । दुग्ध उत्पादक कृषकहरुलाई तालिम, उपकरणलगायतका सामग्रीहरु वितरण गर्दै आएको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले पालिकाले व्यवसायीक रुपमा कृषि र पशुपालन गर्नेलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । कृषि र पशुपालनको माध्यमबाटै आत्मनिर्भर बन्न सकिने भएकाले व्यासायिक रुपमा लाग्नका लागि कृषकहरुलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।