• ८ पुस २०८१, सोमबार

‘अपाङ्गमैत्री वातावरण निर्माणमा मधेश सरकार प्रतिबद्ध छ’

blog

जनकपुरधाममा मधेशी अपाङ्गता भएका महिलाको प्रथम प्रादेशिक सम्मेलनलाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपाङ्गमैत्री वातावरण निमार्णका लागि मधेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेशी अपाङ्गता भएका महिलाको प्रथम प्रादेशिक सम्मेलनमा बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले प्रदेशमा आउने दिनमा निर्माण हुने भौतिक संरचनाहरु अपाङ्गमैत्री रहने बताउनुभयो । अपाङ्गता भएकाहरुको हक अधिकार पहिचानका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिदै उहाँले त्यसका लागि प्रदेश सरकार गृहकार्य गरिरहेको बताउनुभयो । 

प्रदेश सरकारले अपाङ्गता भएकाहरुका लागि निर्माण गर्ने नीति ऐन कानुनमा समावेश हुने विषयवस्तुहरु उल्लेख गरी प्रदेश सरकारलाई सुझाव दिन मुख्यमन्त्री सिंहले सरोकारवाला संघ संस्थासँग आग्रह गर्नुभयो । 

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्रका बिणा चौधरीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्णसहितकाले सार्वजनिक सरोकारका ठाउँहरु अझै पनि अपाङ्गमैत्री नभएको र अपाङ्गको सवालमा ठोस नीति प्रदेश सरकारले नलिएको कारण विभिन्न किसिमका सेवा सुविधा लिनबाट बन्चित हुनु परेको भन्दै प्रदेश सरकारले मधेशी अपाङ्ता भएका व्यक्तिहरुको पहिचान स्थापित गरी एकिन तथ्यांकका आधारमा विशेष नीति, योजना तथा कार्यक्रमको ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।  

सम्मेलनमा अपाङ्गता भएकाहरुको हक अधिकार र पहिचानको विषयमा कार्यपत्र प्रस्तुत भइ छलफल हुने र अगामी कार्यक्रम तय हुने अपाङ्ग समाज जनकपुरधामका सल्लाहकार किरण पासवानले बताउनुभयो ।