रामकृष्ण बोहरा
बागलुङ, चैत १० गते । जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला मङ्गलबारदेखि सुरु हुँदैछ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा सञ्चालन हुने मेलाको तयारी पूरा भएको समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो । चैत १० देखि सुरु हुने मेला १४ गतेसम्म चल्ने छ । खड्काका अनुसार, व्यापारिक स्टल निर्माण, रमाइलो मेला र प्रचार प्रसारलगायतका काम सकिएका छन् ।
‘गन्तव्य बागलुङ कालिका–स्थानीय उत्पादनको प्रवद्र्धन, कला संस्कृति र समृद्धिको आधार, धार्मिक पर्यटन’ भन्ने मूल नाराका साथ आयोजित मेलाले बागलुङको धार्मिक तथा सांस्कृतिक गरिमालाई उचाइमा पु¥याउने आयोजकले अपेक्षा गरेको छ ।
मेलाको उद्घाटनमा विभिन्न समुदायको झाँकी, स्थानीय कला–संस्कृति, कृषि र पञ्चेबाजा प्रदर्शन गरिने छ । मेलामा खेलकुद र सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । मेलाको मुख्य आकर्षणका रूपमा तीन लाख पुरस्कार राशीको कालिका कप खुल्ला पुरुष र एक लाख पुरस्कारको महिला भलिबल प्रतियोगिता छन् ।
त्यस्तै, छेलो प्रतियोगिता, रथ यात्रा र बालउद्यान जस्ता कार्यक्रमले मेलालाई थप रोचक बनाउने अध्यक्ष खड्काको भनाइ छ । चैत्राष्टमी मेलाको सांस्कृतिक रौनक भर्न प्रकाश सपुत, बसन्त थापा, शिव परियार, भूमिका गिरी, तेजश रेग्मी लगायतका चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती रहने छ ।
बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा जस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री चैत्राष्टमी मेलामा बिक्रीका लागि ल्याउने गरेका छन् । अमलाचौरका चुँदाराले बनाएका दारका ठेकी र घरायसी सामग्रीहरु मेलामा व्यापारका लागि ल्याउने गर्छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसंग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर यहाँ मेला र पूजा सुरु भएको पाइन्छ ।