अमरराज नहर्की
तनहुँ, चैत १० गते । तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रका ग्यास डिपो र खाद्य पसलमा उपभोक्ता ठगी भइरहेको पाइएको छ। यसपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको छ। व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमनका क्रममा ग्यास सिलिण्डरमा कम तौल र पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको हो।
व्यास नगरपालिकाका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक इन्दिरा दरैको नेतृत्वमा सोमबार टोलीले व्यास नगरपालिकाका वडा नं। २ र ४ का विभिन्न व्यवसायिक फर्महरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा दमौली ग्यास बिक्री केन्द्र, भानु ग्यास, नेपाल ग्यास र जानकी ग्यासमा तोकिएको भन्दा १८० ग्रामसम्म कम तौल पाइएको छ। त्यसैगरी व्यास–४ स्थित शुभलक्ष्मी सप्लायर्सले बिक्री गर्दै आएको बाबा ग्यासमा ८० ग्राम कम तौल भेटिएको अनुगमन समितिले जनाएको छ।
खाद्यतर्फ, व्यास–२ स्थित फेमिली स्टोर्समा म्याद गुज्रिएका फेण्टा पेय पदार्थ र कोकोनट बिस्कुट बिक्रीका लागि राखिएको अवस्था भेटिएको छ। टोलीले विभिन्न होटल तथा रेष्टुरेन्टमा समेत अनुगमन गरी सरसफाइ र गुणस्तर सम्बन्धी सचेतना प्रदान गरेको छ। बजारमा यस्ता अनियमितताले उपभोक्तामा प्रत्यक्ष प्रभाव परेको निष्कर्ष टोलीले निकालेको छ।
अनुगमन समितिका संयोजक इन्दिरा दरैले उपभोक्ताको स्वास्थ्य र आर्थिक अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भन्नुभयो, “बजारमा ग्यासको तौल कम हुनु र म्याद नाघेका सामान भेटिनु गम्भीर विषय हो। व्यवसायीहरूलाई नियमअनुसार मर्यादित व्यापार गर्न निर्देशन दिएका छौँ, अटेरी गरेमा कानुन बमोजिम कारबाही हुनेछ।”
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा नं। २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा नं। ३ का वडाध्यक्ष अनुप राना, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरीप्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, उद्योग वाणिज्य संघका प्रतिनिधि शेषराज श्रेष्ठ, प्रशासन सहायक बिन्दु पौडेल लगायतको सहभागिता रहेको थियो।
टोलीले आगामी दिनमा अनुगमनलाई अझ सशक्त बनाउँदै उपभोक्ता हित संरक्षणमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।