• ८ पुस २०८१, सोमबार

धार्मिक पर्यटनका लागि भण्डारा सेवा केन्द्र बन्ने

blog

निर्माणाधीन भण्डारा सेवा केन्द्रको भवन, कुश्मा ४ पर्वत ।

प्रनिश गिरी

कुश्मा-पर्वत, मङसिर १९ गते । पर्वत जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि यतिबेला चर्चित गन्तव्य बनेको छ । कालीगण्डकी नदी र मोदीखोलामाथि निर्मित अग्ला झोलुङ्गे पुल र साहसिक खेल बन्जीजम्प सञ्चालनपछि पर्वत अरू बढी पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

पर्वत धार्मिक पर्यटनको समेत उति नै सम्भावना रहेको जिल्ला हो । धार्मिक पर्यटन  प्रवर्धनका लागि कुस्मा नगरपालिका ४ स्थित महावीर स्थानमा पोखरा–बाग्लुङ राजमार्ग नजिकै पहिलो पटक भण्डारा सेवा केन्द्रको स्थापना गरिँदै छ ।  दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले पर्वतमा रहेका धार्मिक स्थलको दर्शन साथै सदरमुकाम कुस्मा हुँदै मुक्तिनाथ पुग्ने साधुसन्त, तीर्थालु, भक्तजनको सेवाका लागि भण्डारा सेवा केन्द्रको स्थापना आफ्नै जग्गामा गर्ने भएको हो । भण्डारा सेवा केन्द्रले साधुसन्त तथा भक्तजनका लागि निःशुल्क भोजन र आवास सेवा अबको ३ महिनाभित्रमा उपलब्ध गराउने जनाएको छ । 

भण्डारा सेवा केन्द्रको संरक्षक दुर्गानाथले संस्थाको सेवाबारे भन्नुहुन्छ, "सनातन धर्म संस्कृतिको संरक्षण एवं धार्मिक पर्यटन  प्रवर्धन गर्नका लागि जागरूक, धार्मिक एवं समाजसेवी भावना भएका व्यक्तिको सहयोगबाट व्यवस्थित किसिमको सेवा भण्डारा र भोजनालयको स्थापना गरी मानव सेवा गर्ने, साधुसन्त र दीन दुःखीको सेवा गर्ने हेतुले काम अघि बढाइएको हो ।" 

भण्डारा सेवा केन्द्रले भक्तजनहरूको आर्थिक र भौतिक सहयोगबाट अहिले तीनतले पक्की भवन निर्माण गर्दैछ । भवनमा आवास गृह, भोजनालयसँगै ध्यानसाधना केन्द्रको सेवा उपलब्ध हुनेछ । केन्द्रले भण्डारासहित अन्य भौतिक संरचना निर्माणका लागि ६० लाख लागतको अनुमान गरेको छ । 

भवन नजिकै रहेको साधुसन्तहरु नागा बाबा महावीर गिरी महाराज, नागाबाबा विष्णु गिरी महाराज र नागाबाबा पशुपति गिरी महाराजको पवित्र समाधिस्थल वरिपरि सुन्दर बगैँचा र गौशाला निर्माण गर्ने योजना केन्द्रको छ । ब्रम्हलीन हुनुभएका नागाबाबाका नेपाल तथा भारतसहित विश्वका विभिन्न देशमा गरी सयौँको सङ्ख्यामा चेलाहरू छन् ।

पर्वतमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका गुप्तेश्वर गुफा, मोदिवेणी घाट, पंचासे, डहरेको लेक, शालग्राम महाशिला, कालाञ्जर पर्वतलगायत थुप्रै स्थलहरू छन् । ती धार्मिक स्थलको दर्शन गर्न आउने भक्तजनहरू जो केन्द्रमा आउने छन् उनीहरूलाई डिजिटल प्रणाली मार्फत केन्द्रमा रहेको सूचना घरबाट आवश्यक सूचना र जानकारी गराई धार्मिक पर्यटन  प्रवर्धन गर्ने लक्ष्य लिएको केन्द्रकी अध्यक्ष शारदादेवी पौडेलले बताउनुभयो । 

अध्यक्ष पौडेल भन्नुहुन्छ, "मुक्तिनाथको यात्रा गर्ने नेपाल तथा भारतीय साधुसन्त, तीर्थालु र भक्तजनलाई भोजन र आवासको सेवा दिँदै पर्वतको पर्यटकीय स्थलहरूको यथोचित जानकारी दिई धार्मिक पर्यटन प्रवर्धन गर्ने पवित्र उद्देश्यले सञ्चालन गरिने भण्डारा सेवा केन्द्रलाई स्थानीय सरकार तथा सरोकारवाला सबै पक्षको सहयोगको खाँचो छ ।"

गुप्तेश्वर धार्मिक पर्यटन  प्रवर्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले भण्डारा सेवा केन्द्र स्थापनाले पर्वतको सिङ्गो धार्मिक पर्यटन क्षेत्रको  प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, "गुप्तेश्वर गुफा क्षेत्रमा भण्डारा सेवा केन्द्र बन्नु आफैँमा महत्त्व राख्छ । संस्कृत पाठशाला र साधुसन्तको समाधिस्थल रहेको स्थानमा भण्डारा सेवा केन्द्रमार्फत साधुसन्त र भक्तजनको सेवा गर्नु पवित्र कर्म हो । पवित्र कर्मसँगै यसबाट धार्मिक पर्यटन  प्रवर्धन गर्न सकिने प्रशस्त सम्भावना छ । केही माथि १२ ज्योतिर्लिङ्गसहित ५६ फिट अग्लो शिवपार्वतीको मूर्तिको निर्माण गरिँदै छ । गुप्तेश्वर गुफाको एकीकृत विकासमा केन्द्रको सहयोग रहने विश्वास लिएका छौँ ।"