• ८ पुस २०८१, सोमबार

बाँके बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

blog

बैजनाथ गाउँपालिकामा गरिएको निशुल्क आँखा शिविर । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १९ गते । बाँकेको बैजनाथ गाँउपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा एक हजार २९० जनाले आँखा जाँच गराएका छन् । 

भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र बैजनाथ गाँउपालिकाको सहकार्यमा बैजनाथ गाँउपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ मा सञ्चालन गरिएको शिविरमा १ हजार २९० जनाको आँखा परीक्षण गरिएको हो । 

कार्यक्रम संयोजक वृजेश कुमार मिश्रका अनुसार सो शिविरमा ५३६ जना पुरुष र ७५४ जना महिलाको गरेर एक हजार २९० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।

तीमध्ये २६५ जनामा मोतियाबिन्दको समस्या देखिएको जनाउँदै मिश्रले उनिहरुको पनि ५० प्रतिशत शुल्क लिएर शल्यक्रिया गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँका अनुसार मोतियाबिन्दु देखिएका २६५ जना मध्ये ११५ जना पुरुष र १५० जना महिला छन् ।

आँखा परीक्षणको क्रममा सामान्य समस्या भएकालाई निःशुल्क औषधी उपलब्ध गराएको किभा फाउन्डेसनका अध्यक्ष संगिता पाठकले जानकारी गराउनुभयो । 

यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराउनुभयो ।