गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले मंगलबार सो विचार सार्वजनिक गर्नुभएको हो ।
विगतमा जितेका स्थानमा प्रमुख राजनीतिक दलले चुनाव नजित्नुले जनप्रतिनिधिहरूको कामप्रतिको असन्तुष्टि व्यक्त भएको उहाँको भनाइ छ । ‘नेकपा (एमाले) ले विगतमा जितेका ७ वडाध्यक्षमध्ये एक सिट मात्र कायम राख्न सक्यो, नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्षमध्ये पूर्वी रुकुमलाई छाडेर सबै गुमायो ।
नेपाली कांग्रेसले एक वडाध्यक्षमा एक र ६ पदाधिकारीमध्ये कीर्तिपुरलाई छाडेर सबै गुमायो । यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ, जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ’ उहाँले भन्नुभयो ।
उपचुनावको परिणाममा एमाले तेस्रो भनेर गरिएको प्रचारमा पोखरेलले टिप्पणी गर्दै भन्नुभयो, अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिए पनि चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न रहेको छ ।
उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा दुई जिल्ला समन्वय समिति प्रमुख, तीन पालिका प्रमुख तथा अध्यक्ष र तीन पालिका उपप्रमुख तथा उपाध्यक्षका साथै बाँकी वडाध्यक्ष थिए । यसैगरी माओवादी केन्द्रले विगतमा जितेका ८ सिटमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष थिए ।
नेकपा एमालेले विगतमा चुनाव जितेका सात वडाध्यक्षको सिटमा उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने उहाँको धारणा छ । चुनावी परिणामका हिसाबले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयरसहित १६ वडाध्यक्ष जितेको र जिल्ला समन्वय समिति प्रमुख दुवै सुरक्षित गरेको छ । कांग्रेसले दुई अध्यक्ष र तीन उपप्रमुख र उपाध्यक्ष गरी पाँच पदाधिकारी तथा तीन वडाध्यक्ष गुमाएको उहाँले उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रले एक अध्यक्ष, एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको भए पनि माओवादीको जितमा विगतको चुनावमा नेपाली कांग्रेससँंगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल भएको पोखरेलको दाबी छ । यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको पोखरेलको विश्लेषण छ ।
नेकपा एमालेले विगतमा सात वडाध्यक्ष जितकोमा यस पटकको उपनिर्वाचनमा एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष जितेको उल्लेख गर्दै उहाँले गुमेका दुई वडाध्यक्षका ठाउँमा एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको पोखरेलको भनाइ छ । ‘यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ’ पोखरेलले लेख्नु भएको छ । एमालेको अपेक्षाअनुरुप परिणाम भने आउन नसकेको उहाँको स्वीकारोक्ती छ ।
‘विशेषगरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन, अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन, त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा एमाले र नेतृत्वविरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ’ पोखरेलले लेख्नु भएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                