निशा राई
धरान, मङ्सिर १८ गते । चिसो बढेसँगै व्यापारीहरुले भक्का बेच्न सुरु गरेका छन् । मधेशतिर मात्र पाइने भक्का पछिल्लो समय सबैमाझ लोकप्रिय बनेको छ ।
धरानको हरेक बाटो, गल्लीहरुमा खाजाको रुपमा भक्का खाने मानिसहरुको भिड हुने गर्दछ । धरान उपमहानगरपालिका–१८ बस्ने सुबु राजधामीले विगत १० वर्षदेखि जाडो मौसमभरि भक्का बेच्दै आएको बताउनुभयो । भक्कासँगै आलुचप, प्याजीसमेत बेच्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ बिहान ५ बजेदेखि १० बजेसम्म र दिनको ३ बजेदेखि साँझ ७ बजेसम्म भक्का बनाउने गर्नुहुन्छ ।
काममा जाने आउने मानिसहरुदेखि विद्यार्थीहरुसमेत भक्का खान मन पराउँछन् त्यसैले धरानलगायत तराई क्षेत्रको अधिकाशं चोक, गल्लीहरुमा भक्का बेच्ने गरेको पाइन्छ । जाडो मौसममा धेरैले भक्का मन पराउने भएकोले भक्काको व्यापार पनि राम्रो हुने गरेको व्यापारी राजधामीले बताउनुभयो ।
पहिला ५ रुपियाँमा बेचिने भक्का अहिले महँगीले गर्दा अहिले २० रुपियाँ पर्ने गरेको उहाँले बताउनुभयो । दैनिक २ देखि ३ हजारसम्म बिक्री गरे पनि दैनिक रुपमा ५ सयदेखि ७ सयसम्म नाफा बस्ने गरेको राजधामीले बताउनुभयो । जाडो महिनामा भक्काको राम्रो व्यापार हुने भएकोले अन्य काम छोडेर भक्का बेच्दै आएको र यसले घर खर्च राम्ररी नै चल्ने राजधामीले बताउनुभयो । अन्य समयमा अन्य काम गर्ने गरे पनि जाडो मौसममा भक्का व्यापार नै गर्दै आएको उहाँले बताउनुभयो । यसले गर्दा आफ्नै कमाइ पनि हुने र अरुको दबाबमा पनि नहुने भएकोले यसको व्यापार गरेको बताउनुभयो ।
धरानमा धेरै जाडो त हुँदैन तर पनि बिहान र बेलुका भक्का बेच्ने गरेको अर्का व्यापारी सबुनम चौधरीले बताउनुभयो । उहाँले पनि विगत ५ वर्षदेखि भक्का व्यापार गर्दै आएको बताउनुभयो । अन्य समयमा भने उहाँ अरु नै काम गर्ने गरे पनि जाडो याममा यसै काम गरेर जीविकोपार्जन गर्दै आएको बताउनुभयो ।
भक्का चामलको पिठोबाट पानीको वाफमा पकाइन्छ । यो नुन, चिनी हालेर वा नहाली अचारसँग पनि आफ्नो स्वाद अनुसार खान सकिने उहाँले बताउनुभयो । यो तातै खाँदा स्वाद लाग्ने, पच्न सजिलो हुने र शरीरलाई न्यानो दिने हुनाले जाडोमा भक्का मन पराउने गरेको राजवंशीले बताउनुभयो ।
जाडो महिनामा सर्वसाधारणले भक्का मन पराउने गरेका कारण अहिले धरानमा भक्काको व्यापार गर्नेको सङ्ख्या बढेको छ । धरान मात्र हैन जाडो महिनाभरि तराई क्षेत्रमा भक्काको व्यापार गर्नेहरुले राम्रै कमाइ गर्छन् ।
पहिले चौधरी समुदायले मात्रै खाने गरेको भक्का अहिले धेरैको रोजाइमा पर्न थालेको छ । भक्का खाजाका रुपमा अत्यन्तै राम्रो भएकोले प्रायः खाजाको रुपमा खाने गरेको धरान–११ निवासी विनीता राईले बताउनुभयो ।
भक्का चिप्लो, पिरो, मसलादार नभई सादा हुने भएकोले स्वास्थ्यका लागि पनि राम्रो भएकोले असाध्यै मन पर्ने उहाँले बताउनुभयो । जाडो याममा खाजाको रुपमा भक्का धेरैको रोजाइ भएकोले अहिले भक्का सबैको लोकप्रिय खाजाको रुपमा छ ।