• ७ पुस २०८१, आइतबार

चालकमाथि कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडक अवरूद्ध

blog

घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गर्न सडकमा बसेका मृतकका आफन्त तथा स्थानीयहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, मङ्सिर १८ गते । मृतकका आफन्तले टिप्पर चालकलाई कारबाही र राहतको माग गर्दै दाङको घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा मृतकका आफन्तहरु सडकमै बसेर अवरुद्ध गरेका हुन् । 

मृतकका परिवारलाई राहतको ग्यारेन्टीसँगै दोषीलाई कारवाहीको सुनिश्चित नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । 

सडक अवरुद्ध हुँदा घोराही–तुलसीपुर सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । अवरुद्ध सडक सञ्चालनका लागि पीडित पक्षसँगै टिप्पर व्यवसायीसँग कुराकानी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्वर थापाले जानकारी दिनुभएको छ ।  

सोमबार साँझ रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई झारबैरामा ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको थियो ।  मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । 

दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ निवासी २२ वर्षीय दीपक बस्नेत घाइते हुनुभएको थियो । बस्नेतको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्वर थापाले जानकारी दिनुभयो। 

प्रहरी नायब उपरीक्षक थापाका अनुसार प्रहरीले टिपर चालक घोराही उपमहानगरपालिका–११ डोक्रेना निवासी ४० वर्षीय जितबहादुर चौधरी र टिप्परलाई नियन्त्रणमा लिएर घटना बारेमा अनुसन्धान गरिरहेको छ ।