• ७ पुस २०८१, आइतबार

साँवामा फुटबल र भलिबल प्रतियोगिताको तयारी

blog

पत्रकार सम्मेलनमार्फत खुला फुटबल तथा वडास्तरीय भलिबल प्रतियोगिताबारे जानकारी गराइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका–४ साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

सदरमुकाम फुङ्लिङमा मङ्गलबार बिहान क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । किराँत लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) अवसरमा मङ्सिर ३० देखि पुस ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिनुभयो ।

अध्यक्ष थलङका अनुसार खुला पुरुष फुटबलतर्फ विजेताले एक लाख एकहजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले ६१ हजार रुपियाँ नगदका साथ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, अन्तर वडास्तरीय भलिबलतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आयोजक क्लबका अनुसार खुला पुरुष दौड (मिनि म्याराथन) प्रतियोगिता पनि आयोजना गरिएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार रुपियाँ, सात हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने क्लबका सल्लाहकार संयोजक बिके थलङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।

खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव पूर्ण थलङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार माबो लिम्बूलगायतको उपस्थिति थियो ।