• ७ पुस २०८१, आइतबार

प्रदेश सरकार विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य

blog

छलफल कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यसहित अन्य प्रतिनिधिहरु ।

गणेश खनाल

अर्घाखाँची, मसिर १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । 

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसँग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको हो । 

तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च रहेको छ । यी स्वास्थ्य समस्या निदानका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्र सम्भव नरहेको भन्दै विश्व स्वास्थ्य संगठनको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो ।

‘विश्व स्वास्थ्य संगठनले नेपाल र लुम्बिनीको स्वास्थ्य व्यवस्थामा गरेको लगानीको उच्च प्रशंसा गर्न चाहन्छु, उहाँले भन्नुभयो । विश्व स्वास्थ्य संगठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण लगायतका क्षेत्रमा सहयोग गर्दैआएको छ । आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारका लागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिएको स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले जानकारी दिनुभयो । 

मुख्यमन्त्री आचार्यसँग विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको थियो । सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगा उपाध्यक्ष डा. डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा. बासुदेव उपाध्याय, मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाल लगायत सभागी हुनुहुन्थ्यो ।