• ८ पुस २०८१, सोमबार

अन्तरविद्यालय लोकभजन प्रतियोगिता

blog

लोकभजन प्रतियोगितामा सहभागी पशुपति माविका विद्यार्थी पुरस्कारका साथमा । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, मङ्सिर १७ गते । पछिल्लोसमय लोकभजन लोप हुँदै गएको भन्दै त्यसको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरविद्यालय लोकभजन प्रतियोगिता गरिएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको सैनामैनामा विद्यालयस्तरीय लोकभजन प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा प्रथम स्थान कलौनी कान्तिपुर इंगलिश बोर्डिङ स्कुल कलौनीले हात पारेको छ भने पशुपति मावि सालझण्डी दोस्राे हुन सफल भएको छ । त्यसैगरी ग्यालेक्सी इंगलिश बोर्डिङ स्कुल तेस्राे भएको छ ।  

प्रतियोगितामा प्रथम हुने कलौनी कान्तिपुर इंगलिश बोर्डिङ स्कुल कलौनीले नगद २० हजार, द्वितीय हुने पशुपति मावि सालझण्डीले १५ हजार र तृतीय हुने ग्यालेक्सी इङलिश बोर्डिङ स्कुलले १० हजार पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा रुपन्देही जिल्लाका २२ विद्यालयको सहभागिता थियो । 

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले लोकभजन पछिल्लो समय लोप हुंँदै गएको र त्यसको संरक्षण र प्रवर्धन विद्यालयका बालबालिकाहरुबाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गरिएको बताउनुभयो । 

विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई नेपाली लोकभजन र संस्कृतिका विषयमा जानकारी दिन सकियो भने भोलिको दिनमा असल नागरिक निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक भएकोले यसले नेपाली संस्कार, संस्कृतिको जगेर्ना गर्ने बताउनुभयो ।