• ८ पुस २०८१, सोमबार

नयाँ थितिरीति

blog

मित्र ! तपाईंले म कहाँ हराएँ भन्ने चिन्ता लिनुभएको छ भने त्यसलाई चटक्कै छोडिहाल्नुस् है । वास्तवमा म आजकल अति नै व्यस्त छु । त्यसैले तपाईं हिँड्ने गोरेटो र म दौडिरहेको घोडेटो फरक परेकाले हाम्रो जम्काभेट हुने संयोग नजुरेको हो । अब तपाईंले ‘कुन बाटो ? किन दौडेको ?’ भन्ने प्रश्न गर्नुहोला । एक छिन पख्नुस्, तपाईंको प्रश्नको उत्तर दिनुभन्दा पहिले मेरो कुरा त सुन्नुस् ।     

मानवबाट मानवता टाढिएको मोर्डन युगमा एउटा नयाँ रीतिको थिति बसेको कुरा त सबैलाई थाहा नै छ । त्यो कुरा के हो भनेर थाहा नपाउने कोही अज्ञानी हुनुहुन्छ जस्तो त लाग्दैन तैपनि एकचोटि भनिदिन्छु ल सुन्नुस् अनि गुन्नुस् है, जमाना कहाँबाट कहाँ पुगिसक्यो, तपाईं भने... ।

‘आज मलाई भोलि तँलाई’ अथवा ‘एक हातले दे अर्को हातले ले’ भन्ने उखानटुक्काको अर्थलाई अक्षरशः पालना गर्ने प्रवृत्ति हलक्क हल्किएर फलिफुलिरहेछ । दिनानुदिन डाँडाकाँडा काटेर झाँगिरहेछ, फैलिरहेछ । धेरै पहलादेखि त हैन त्यस्तै एकाध दशकदेखि व्यक्ति व्यक्तिले घरघर, टोलटोलमा अनेकौँ प्रतिष्ठान, सङ्घसंस्था खोल्ने अनि कुनै बहाना बनाउने र पुरस्कार, सम्मान वितरण गर्नका लागि आफ्नो पहुँचको व्यक्ति, दल र सरकारसँग आर्थिक सहयोगका लागि नलजाई याचना गर्ने र समाजमा आफूलाई चर्चित साहित्यकार, अभियन्ता, समाजसेवी देखाउने अनि टोलगल्ली, गाउँसहरका आफन्त, साथीभाइ, इष्टमित्रका साथै परिचित अपरिचितबिच वरिष्ठ, प्रतिष्ठित बन्न खोज्ने होडबाजी नै चलेको छ । यसरी कसैले तपाईं भनोस् कि नभनोस् आफैँ मपाईं भन्नेहरूको जुलुसमा हिङ नभए पनि हिङ बाँधेको टालो बाँधेर सामेल हुनेहरूको पनि लर्को नै छ । अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मान, पुरस्कार भन्यो अनि त सानै कत्रो, मानै कत्रो ! नाक त झनै सगरमाथालाई माथ गर्ने भइहाल्यो । आखिर पुरस्कारको लोभ कसलाई लाग्दैन र ? मानसम्मानको लालसा कसको मनमा जाग्दैन र ? जसले जेसुकै भने पनि मञ्चमा गएर पुरस्कार लिँदा होस् या सम्मानका लागि भनेर दोसल्ला ओडाउँदा गमक्क नगम्किने को होला ? यो अर्कै कुरा हो कि खाम खाली होस् या सम्मानका लागि ओडाइएको दोसल्ला पछि ओडाउनेलाई नै ओडाउनुपरोस्, यी पछिका कुरा हुन् तत्कालका लागि त सबैको तालीले नै गालामा लाली बढाइहाल्छ । अरूका नजरमा आफू ठुलो, वरिष्ठ ठहरिहालिन्छ । कसैले ‘तपाईंले कुन क्षेत्रमा के उल्लेखनीय काम गरेबापत यो सम्मान, प्रशंसा या पुरस्कार पाउनुभएको हो ?’ भनेर सोध्ने हैनन् क्यारे ! दिनेले दिइसकेपछि लिनेले लिइसकेपछि कुरै सकियो । पछाडि कसैले केही भन्छ भने भनिरहोस् कराउनेहरू कराइरहन्छन्, हात्ती लम्किरहन्छ । फेरि पुरस्कार लिने, सम्मानित हुने सेवीलाई सेवा गर्न, अभियन्तालाई अभियानमा लाग्न, साहित्यकारलाई लेखपढ गर्न समय नै पुग्दैन, फुर्सद नै हुँदैन किनभने पहिला लिने च्यानल मिलाउनमै व्यस्त हुनुप-यो र पाउनासाथ लिन दौडिहाल्नुप¥यो अनि कति बेला फुर्सद हुन्छ केही गर्नलाई ? कति बेला लेख्नु ? कहिले पढ्नु ? अझ कहिलेकाहीँ त नैतिकता, स्वाभिमान जस्ता बेकारका कुरा सिँगौरी खेल्न आइपुग्छन् अनि ती जैरेलाई कुम्लोकुटुरो पारेर कुनाकाप्चातिर फाल्न पनि समय खर्चिनुपर्ने हुन्छ । कसैले बुझ्दैन, कम्ता गाह्रो छ ?

यसरी पार्टी, गुट, जाति, लिङ्ग, क्षेत्र, चम्चागिरी, चाप्लुसी, भनसुन आदि इत्यादिका आधारमा पुरस्कार या सम्मान आदानप्रदान अथवा दिनमा लिएर रातमा फिर्ता गर्ने या पैँचो तिर्ने परम्परालाई निरन्तरता दिन माहिर मञ्च ताक्ने र ढाक्ने इच्छितहरूको इच्छापूर्तिका लागि खोलिएका सङ्घसंस्थाहरूको सङ्ख्या जनसङ्ख्या र भूगोलको आधारमा हेर्ने हो भने विश्वकै पहिलो नम्बरमा नेपाल नै अडिग भएर अडिएको देश हो भन्दा फरक नपर्ला । अनि यसलाई अरू देशले हल्लाउन या पछि पार्न सक्ने सम्भावना पनि हाललाई छैन । आखिर मरिजाने चोला र उडिजाने सासको के भर छ र ! अब त्यस्तो भर नभएको सास फुस्स हुनुभन्दा पहिले नै कोठाका भित्ता, दराज, ¥याक, टेबुल सम्मानपत्रले सजाउनुलाई नराम्रो काम पनि भन्न नमिल्ला । त्यसैले म पनि मौकामा चौका हान्दै या भनौँ परिवर्तशील समयको मागलाई उच्च सम्मान गर्दै सम्मान साटासाटको साँठगाँठ मिलाउन, मञ्चासीन भई खादा, माला ऐँचोपैँचोको पर्वमा रम्न, पुरस्कार लेनदेनको ‘लेन’ मा दौडिनै व्यस्त छु । 

आउनुस् मित्र तपाईं पनि एउटा संस्था खोल्नुस् अनि पुरस्कार (खाम खाली नै सही), प्रशंसापत्र, मानसम्मान, दोसल्ला साटासाटमा व्यस्त हुनूस् । बरु पहिला मलाई नै दिनूस् अनि म तपाईंलाई दिउँला नि है । आखिर बगेको गङ्गामा नै त हो हात चोपल्ने । 

जताततै अबिरराम, खादाराम, मालाराम आदि रामैरामलाई देखेर कोही भोलाराम तिरिमिरी झ्याइँ भएर जिल्लाराम भए भइरहोस्, नो प्रब्लम ! हैन त ?  मधुपर्क

भाटभटेनी, काठमाडौँ, नेपाल