• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा काँग्रेसलाई अग्रता, पछ्याउँदै एमाले र माओवादी

blog

तस्बिर : रेखीराम राना विजयपछि पाल्पामा नेपाली काँग्रेसले निकालेको जुलुस।

लुम्बिनी, जेठ ५  गते । स्थानीय तह निर्वाचनको परिणामअनुसार लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो स्थानमा रहेको छ । गुल्मी समाचारदाताका अनुसार गुल्मी जिल्लाको स्थानीय निर्वाचन परिणामको नतिजा काँग्रेसको पक्षमा गएको छ ।

दुई नगरपालिकासहित १२ स्थानीय तह रहेको गुल्मीमा नेपाली काँग्रेसले पाँच स्थानीय तहमा जित निकालेको छ । नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिकाको प्रमुख जितेको छ । त्यस्तै इस्मा, मदाने, गुल्मीदरबार र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा विजय प्राप्त गरेको छ ।

त्यस्तै गठबन्धनकै तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मुसीकोट नगरपालिकाको प्रमुखसहित छत्रकोट र सत्यवती गाउँपालिकाको अध्यक्षमा विजय प्राप्त गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा नेकपा (एमाले)ले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले एक स्थानीय तहको उपप्रमुख÷उपाध्यक्षमा विजय प्राप्त गरेको छ । मुसीकोट नगरपालिकाको उपप्रमुखसहित मदाने, धुर्कोट, छत्रकोट, सत्यवती र रुरुक्षेत्र गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

यस्तै रेसुङ्गा नगरपालिकाको उपप्रमुखसहित इस्मा, मालिका, चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको छ ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो गृहपालिकामा अध्यक्ष जोगाउन सक्नुभएन । सो क्षेत्रबाट सांसद निर्वाचित ज्ञवालीको रुरुक्षेत्र गाउँपालिकामा पाँच वडा अध्यक्षसहित गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी भएको छ । यद्यपि अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का यदु ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले पाँच हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिमाल श्रेष्ठले चार हजार ५४० मत प्राप्त गर्नुभएको थियो ।

यस्तै नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टको गृहपालिका इस्मासमेत गुमेको छ । गाउँपालिकाको अध्यक्षमा गुल्मी काँग्रेसका सचिव भगत सिंह खड्का विजयी हुनुभएको छ । खड्का पाँच हजार ५८९ मतसहित विजयी हुनुभएको हो । खड्काका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हीरा एसीले पाँच हजार ४६४ मत गर्नुभएको थियो । उपाध्यक्षमा काँग्रेसकै पार्वती कुँवर विजयी हुनुभएको छ । उहाँले पाँच हजार ९०९ मत प्राप्त गर्नुभएको थियो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विमला खत्रीले पाँच हजार १२१ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको रेसुङ्गा नगरपालिका प्रमुखमा गुल्मी काँग्रेसका सभापति खिलध्वज पन्थी विजयी हुनुभएको छ । नगरपालिकामा यसअघिको निर्वाचनमा नेकपा (एमाले)का डिल्लीराज भुसाल निर्वाचित हुनुभएको थियो । जिल्लाको कालीगण्डकी गाउँपालिकामा काँग्रेसका वेदबहादुर थापा मगर चार हजार ८१० मतसहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । थापा मगर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामजी ढकालले चार हजार ६७७ मत प्राप्त गर्नुभएको हो । 

जिल्लाको सत्यवती गाउँपालिकामा एमाले उम्मेदवार टीकाराम पाण्डेय छ हजार २६७ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पारिश्वर ढकालले पाँच हजार ६११ मत प्राप्त गर्नुभएको छ । ढकाल दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिनुभएको थियो । 

जिल्लाको चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का युवराज केसी पाँच हजार ७०० मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गर्नुभएको थियो । जिल्लाको छत्रकोट गाउँपालिकामा नेकपा (एमाले)का रामप्रसाद पाण्डे छ हजार ५८६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी अनन्तराम पौडेलले पाँच हजार ९४८ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीको गृहपालिका छत्रकोटसमेत गुमेको छ । यसअघि पनि छत्रकोटमा काँग्रेस पराजित भएको थियो ।जिल्लाको गुल्मीदरबार गाउँपालिकामा नेपाली काँग्रेसका सरोजकुमार थापा छ हजार १६६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण भुसालले पाँच हजार ६०२ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भूपाल पोखरेल छ हजार ८९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रप्रसाद भण्डारीले चार हजार २६१ मत प्राप्त गर्नुभएको छ । धुर्कोटमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच गठबन्धन भएको थियो । 

जिल्लाको मालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का देवीराम अर्याल छ हजार १६७ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रितबहादुर थापाले चार हजार ६१७ मत प्राप्त गर्नुभएको छ । उहाँ पालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

जिल्लाको मदाने गाउँपालिकामा नेपाली काँग्रेसका महेन्द्रबहादुर कुँवर चार हजार ७०७ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेम केसीले चार हजार ६९७ मत प्राप्त गर्नुभएको हो । नेपाली काँग्रेसका कुँवर दस मत अन्तरले विजयी हुनुभएको हो ।

सहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव रामकुमारी झाँक्रीको गृहपालिका मदानेमा  नेकपा (एस)ले नेपाली काँग्रेसलाई सघाएको थियो ।  जिल्लाको मुसीकोट नगरपालिकामा नेकपा (एमाले)का जीवलाल खराल जीवन सात हजार ३९९ मतसहित प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिनारायण सापकोटाले छ हजार ६०६ मत प्राप्त गर्नुभएको छ ।कुल ९३ वडा रहेको गुल्मी जिल्लामा नेपाली काँग्रेसले ४७, नेकपा (एमाले)ले ४०, नेकपा (माओवादी केन्द्र)ले चार, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार एक जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् । 

बुटवल समाचारदाताका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नवराज ढकाल विजयी हुनुभएको छ । रुपन्देहीमा १६ स्थानीय तह रहेका छन् । ढकालले सात हजार ४९९ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का दीनानाथ आचार्यले छ हजार ६० मत पाउनुभएको छ । 

२०७४ को चुनावमा यो पालिका नेकपा (एमाले)ले जितेको थियो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको यो पालिकामा नेकपा (माओवादी केन्द्र)का मौसमी थापा उपाध्यक्षमा विजयी हुनुभएको छ । यद्यपि उपाध्यक्ष मौसमी रुख चिह्न लिएर निर्वाचनमा जानुभएको थियो । 

रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका विष्णुप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । बस्यालले सात हजार ९८३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का किशुनचन्द्र चौधरीले छ हजार २७० मत प्राप्त गर्नुभएको छ । 

गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की शान्तादेवी ज्ञवाली निर्वाचित हुनुभएको छ । ज्ञवालीले छ हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का ध्रुवप्रसाद खरेल निर्वाचित हुनुभएको छ । खरेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार हीरा खत्रीलाई पराजित गर्नुभएको हो । 

खरेलले १२ हजार ९४३ मत प्राप्त गर्नुभएको थियो । नेपाली काँग्रेसबाट खत्री अघिल्लो निर्वाचनमा नगरप्रमुख निर्वाचित हुनुभएको थियो । नगर उपप्रमुखमा नेकपा (एमाले)कै विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनुभएको छ । २०७४ सालमा समेत गुरुङ उपप्रमुख निर्वाचित हुनुभएको थियो । गुरुङले गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की सुन्दरी गिरीलाई छ हजार ४९४ मतान्तरले पराजित गर्नुभयो ।

जतमत पार्टीले खाता खोल्यो

तौलिहवास्थित समाचारदाता नारद कोहारका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका–६ को वडाध्यक्षमा जनमत पार्टीले खाता खोलेको छ । सिके राउत नेतृत्वको जतमत पार्टीका राजकुमार जैसवालले ५५२ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो । नेकपा (एमाले)बाट टिकट नपाए पछि जनमत पार्टीबाट जैसवाल उम्मेदवार बन्नुभएको थियो ।

 सो वडामा जसपाका अशोककुमार नायकले ४०८ र नेपाली  काँग्रेसका विष्णु जैसवालले ३९८ मत प्राप्त गर्नुभएको छ । यशोधरा–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जुबेर अहमद खा निर्वाचित हुनुभएको छ । यस्तै यशोधरा–१ र २ मा नेकपा (एमाले), ३ नम्बरमा नेपाली काँग्रेस र ४ नम्बरमा जनता समाजवादी पार्टीले वडाध्यक्षमा जितेको छ । यशोधरा–७ र ८ को मतगणना जारी रहेको जनाइएको छ । 

घोराही समाचारदाताका अनुसार दाङको लमही नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगी विजयी हुनुभएको छ । चौधरी नौ हजार ३१७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का वसन्तराज शर्मा (विक्रान्त)ले सात हजार २८५ मत प्राप्त गर्नुभएको छ । 

बर्दिया समाचारदाताका अनुसार बर्दियाका आठवटा पालिकामध्ये नेपाली काँग्रेसले दुई पालिकामा जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले एक पालिकामा जितेको छ । नेपाली काँग्रेसका छविलाल थारूले बारबर्दिया नगरपालिकाको प्रमुख जित्नुभएको छ । छविलाल थारूले १३ हजार छ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेपाली काँग्रेसकै रत्नकुमारी पाण्डेले १२ हजार ४९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का पदमप्रसाद ढकालले दस हजार ३१५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा (एमाले)की नारायणी चौधरीले नौ हजार २९ मत प्राप्त गर्नुभएको छ । गेरुवा गाउँपालिकामा नेपाली काँग्रेसका जमानसिंह केसी विजयी हुनुभएको छ । उहाँले सात हजार ६९८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै लक्ष्मीकुमारी चौधरी निर्वाचित हुनुभएको छ ।

राजापुर नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का दिपेश थारूले ४७ मतको झिनो अन्तरले जित निकाल्नुभएको हो । थारूले नौ हजार ८०७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा सदस्यबाट राजीनामा दिएर दिपेश थारू पालिकामा उम्मेदवार बन्नुभएको थियो । त्यस्तै उपप्रमुखमा ४१ मतान्तरले नेकपा (माओवादी केन्द्र)का मनकलाकुमारी चौधरी निर्वाचित हुनुभएको छ । 

Author

लुम्बिनी ब्युरो