बिन्दु थापा
पाल्पा, मङ्सिर १६ गते । पाल्पाको तानसेनमामा तानसेन नगर स्तरीय दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप आजबाट टुँडिखेल मैदानमा सुरु भएको हो ।
नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले एक समारोहकाबिच प्रतियोगिताको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले नगरका वडाबिच भाइचारा सम्बन्ध विकास र बिस्तारमा टेवा पुग्ने बताउनुभयो । श्रेष्ठले तानसेनलाई खेल सहरको रूपमा विकास गर्न नगरपालिकाले सहयोग गर्न खेलका कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलका माध्यमबाट तानसेनलाई चिनाउन सक्ने विश्वास छ, आगामी दिनमा महिला खेलाडीको उत्पादन गर्दै महिलाहरूलाई यो क्षत्रमा ल्याउनको लागी विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्नेछौं ।”
कार्यक्रममा प्रमुख सन्तोषलाल श्रेष्ठले ब्याटिङ र उपप्रमुख प्रतीक्षा सींजालीले बलिङ गरी खेलको शुभारम्भ गर्नुभएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,प्रवक्ता यादव सिंह कार्की लगायतले खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार १११ रुपियाँ र दोस्रो हुनेले ५० हजार ५५५ रुपियाँ मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जानकारी दिनुभयो । नगर क्षेत्रका खेलाडीको अन्तर्निहित क्षमताको विकास गर्न र खेल क्षेत्रमा माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिताको आयोजना गरिएको शाक्यले भनाइ छ ।
प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट व्याटस्म्यानले दुई हजार पाँच सय र उत्कृष्ट खेलाडीले पाँच हजार पाउने छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २५ गते हुने शाक्यले बताउनुभयो । आइतबार भएको उद्घाटन खेलमा वडा नम्बर ९ र वडा नम्बर १२ बिच प्रतिस्पर्धा भएको छ । जसमा वडा नं ९ ले ५ विकेटले वडा नं १२ लाई पराजित गर्दै जित हासिल गरेको छ ।
प्रतियोगितामा नगरभित्रका १४ वडाका ११ समूहले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । उद्घाटन खेलमा नगरका १० विद्यालय सहभागी भएका थिए ।