शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर १६ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भइरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो १ बजेसम्म ५१.१६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
कुल १३ सय २५ मतदातामध्ये ६७८ जनाले मतदान गरी सकेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतम बताउनुभयो । मतदान केन्द्र ‘क’ मा ३५० र केन्द्र ‘ख’ ३२८ जनाले मतदान गरी सकेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।
हालसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । उपनिर्वाचनमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । वडाध्यक्ष १ पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।