• ८ पुस २०८१, सोमबार

भित्रिकोट प्युठानमा महोत्सवको तयारी

blog

महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर १६ गते । प्युठान नगरबजार क्षेत्रले पुसको पहिलो हप्तादेखि प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्ने भएको छ । पुस ५ गतेदेखि १३ गतेसम्म प्युठान नगरपालिका –७ टिकुरीमा महोत्सव सञ्चालन गर्न लागेको हो ।

प्युठान नगरबजार क्षेत्रका अध्यक्ष प्यारअलि खानले नगरबजार क्षेत्रको सचिवालय भवन निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । “नगरबजार क्षेत्रको सचिवालय बनाउन जग्गा खरिद गरेका छौं” उहाँले भन्नुभयो, “महोत्सवबाट हुने आम्दानीबाट भवन बनाउने उद्देश्य छ ।” 

८० हजारदेखि एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर दुई करोड रुपियाँको कारोबार हुने लक्ष्य राखिएको बताउनुभयो । महोत्सवमा जिल्लाको कृषिउपजको विक्री वितरणलाई प्राथमिकता दिँदै निःशुल्क स्टलको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश गराइने आयोजकले जनाएको छ । विद्यार्थीलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइने अध्यक्ष खानले बताउनुभयो । स्थानीय कला संस्कृतिको प्रवर्धनका लागि प्युठान डान्स आइडल सञ्चालन हुने उहाँको भनाइ छ ।