धीरेन्द्रप्रसाद साह
जनकपुर, मङ्सिर १६ गते । सामुदायिक विद्यालयका शिक्षकहरु कक्षाकोठामा दैनिक पाठ्योजना अनुसार अध्यापन गर्न थालेको छ । धनुषा जिल्लाको कमला र सहिद नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले दैनिक पाठ्योजना बनाएर कक्षाकोठामा अध्यापन गर्न थालेको हो ।
कमलाका छ र सहिद नगरपालिकाका आठ गरी १४ वटा सामुदायिक विद्यालयहरुमा शिक्षकहरुले दैनिक पाठ्योजना बनाएर कक्षा शिक्षण गर्न सुरु गरिएको छ ।
विद्यालयका प्रधानाध्याकहरुले दैनिक पाठयोजनाको महत्व थाहा पाएपछि यसको प्रयोगलाई अगाडि बढाइएको कमला नगरपालिका १ दुबरकोटस्थित जनता आधारभुत विद्यालयका प्रधानाध्यापक राजदेव मण्डलले बताउनुभयो । उहाँले २०६१ सालमा पहाडी जिल्लाबाट शिक्षकमा यहाँ सरुवा भएर आउँदा परम्परागत शैलीमै शिक्षण भइरहेको थियो ।
अहिलेसम्म तीन जना प्रधानाध्यापकहरुलाई कक्षा शिक्षणमा दैनिक पाठयोजना, शैक्षिक सामग्रीहरुको प्रयोग गराउन भनेपनि वेवास्ता गर्दै आउनु भएको उहाँले जानकारी दिनुभयो । "पाठयोजना बनाउन शिक्षक निर्देशिका, पाठ्यक्रम, पाठ्यपुस्तक सहित शैक्षिक सामग्री भएको पाँच वटा बाक्सहरु कहिले पनि खुलेको देखिएन", उहाँले भन्नुभयो, "ती सबै बाक्सभित्रका शैक्षिक सामग्रीहरु कुहिएर, धमिराले खाएर नष्ट भइसकेको छ ।"
विभिन्न संघसंस्थाहरुबाट पाएका घडी, रेडियो जस्ता अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने सामग्रीहरु विद्यालयमा नदेखिएको प्रअ मण्डलले बताउनुभयो । आफू हालसालै प्रधानाध्यापकको जिम्मेवारी आएदेखि आसमान नेपालबाट प्राप्त खेलकूद, शैक्षिक सामग्री, अतिरिक्त क्रियाकलापको सामग्री सहितको बाक्स दैनिक रुपमा प्रयोगमा ल्याएको बताउनुभयो ।
विद्यालयमा बालविकास कक्षादेखि माथि सबै कक्षाहरुमा शिक्षकहरुले दैनिक पाठ्योजना बनाएर सोहीअनुसार शैक्षिक सामग्री प्रयोग गर्न लगाएको सहिद नगरपालिका ४ ननुपट्टिस्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक उमेशनारायण मण्डलले बताउनुभयो । विद्यालयमा शैक्षिक सामग्रीका तीन वटा बाक्सहरु रहेको उहाँले यसै साता आसमान नेपालले प्लान इन्टरनेशनलको सहयोगमा प्रधानाध्यापकहरुलाई प्रारम्भिक सिकाइ पढाइसम्बन्धी दिएको तीन दिने अभिमुखीकरण तालिमबाट दैनिक पाठयोजना, शैक्षिक सामग्री प्रयोगले कक्षा शिक्षणको प्रभावकारिताबारे सघन रुपमा थाहा पाएकोले यसलाई प्रयोगमा ल्याएको बताउनुभयो ।
पाठयोजनाका पाँच वटा अंङ्गले समग्र कक्षा शिक्षणलाई प्रभावकारी बनाउने गरेको भन्दै राष्ट्रिय प्राथमिक विद्यालय शराबेका प्रधानाध्यापक प्रतोषकुमार मिश्रले एकीकृत पाठ्क्रमअनुसार दैनिक पाठयोजना बनाएर अध्यापन कार्य सुरुवात गरिएको बताउनुभयो । विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका अति नै महत्वपूर्ण रहेकोले विद्यालयको प्रभावकारी शिक्षण नै विद्यालयको पहिचान रहेको भन्दै उहाँले भन्नुभयो, पाठयोजना र शैक्षिक सामग्रीबिनाको कक्षा शिक्षण कार्य निष्प्रभावी हुन्छ ।