• ८ पुस २०८१, सोमबार

गुलरिया नगरपालिकाका ११ वटा वडा बालविवाहमुक्त वडा घोषित

blog

गुलरियाका वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्दै प्रमुख यादव । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, मङ्सिर १६ गते । बर्दियाको गुलरिया नगरपालिकाका १२ वटा वडामध्ये ११ वटा वडा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषित गर्ने अभियान अन्तर्गत ११ वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । 

उहाँले यही २०८१ सालभित्र नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने योजना रहेको जनाउँदै सोही बमोजिम अब एउटा वडालाई मात्र बालविवाहमुक्त घोषणा गर्न बाँकी रहेको बताउनुभयो । नगरपालिकालाई बालविवाहमुक्त बनाउने अभियानमा गैर सरकारी संस्थाहरु प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको विशेष सहकार्य रहेको जनाउँदै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले सबैको सहयोगले यो गाह्रो काम सहज भएको बताउनुभयो । उहाँले नगरपालिकाका ११ वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न विभिन्न आवश्यक प्रक्रिया पूरा गरिएको बताउनुभयो । 

वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्न विभिन्न वडामा समारोहहरु आयोजना गरिएको र ती समारोहहरुमा वाल विवाहका बारेमा विस्तृत रुपमा स्थानीयलाई जानकारी गराउनुका साथै सो अभियानमा गरिएका कार्यहरुको पनि विस्तृत रुपमा जानकारी गराईएको गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले बताउनुभयो ।   

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत प्लानको सहयोगमा क्लबले दिनरात मिहिनेत गरेर १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताउनुभयो । अब वडा नम्बर २ मात्र घोषित हुन बाँकी रहेको जनाउँदै प्रमुख संरक्षक सिद्दिकीले सो वडा पनि डिसेम्बर महिनाभित्र घोषित गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो ।  

गुलरियाका वडाहरुलाई बालविवाहमुक्त घोषित गर्ने कार्यक्रमहरुमा गुलरियाका मेयर यादव, उपमेयर गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति थियो । 

कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीको समेत सहभागिता  थियो । ती कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि सक्रिय सहयोग थियो ।