तम्घास समाचारदाता
तम्घास, मङ्सिर १६ गते । राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडी पार्क बर्सौंदेखि प्रयोगविहीन छ । यसलाई प्रयोगमा ल्याउन र संरक्षण गर्नमा सरोकारवाला निकायले कुनै चासो नै देखाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन हुँदासमेत स्थानीय सरकार र सरोकारवालाको ध्यान जान नसकेकोमा यहाँका स्थानीयले दुःख व्यक्त गरेका छन् ।
रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा निर्माण भएको पार्क लामो समयदेखि प्रयोगविहीन छ । ५५ लाख
रुपियाँको निर्माणपश्चात् रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा गरी १० लाख रुपियाँभन्दा बढी रकम मर्मतमा खर्चिएको छ । ६५ लाख रुपियाँभन्दा बढी खर्चिएको पार्क अहिले झाडी बनेको छ । त्यसको प्रयोगमा कसैले ध्यान दिएको छैन ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले थ्रिडी पार्क निर्माण गरेर राज्यको रकम दुरुपयोग भएको बताउनुभयो । नागरिकले सरकारलाई खबरदारी गर्ने पहिलेको लाँकुरी मञ्चलाई हटाएर निर्माण गरिएको संरचनाले राज्यको रकम दुरुपयोग हुनु र सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पार्क सञ्चालनका लागि आफूले समन्वय गर्ने बताउनुभयो । राज्यको लगानीलाई यसै खेर जान दिन नहुने भन्दै प्रयोगविहीन अवस्थामा नराख्ने उहाँको भनाइ छ ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीका अनुसार नगरभित्र निर्माण सम्पन्न भएका संरचनालाई सञ्चालनमा ल्याउने गरी योजना बनाएको बताउनुभयो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको थ्रिडी पार्कलाई निजी क्षेत्रलाई सञ्चालनका लागि दिने गरी व्यवस्था गरिएको उहाँको दाबी छ ।
उक्त स्थानमा कफी सप बनाएर सञ्चालन गर्ने गरी निजी क्षेत्रसँग सम्झौता गरिएको र केही समयभित्रै सञ्चालनमा आउने उहाँको भनाइ छ ।