• ९ पुस २०८१, मङ्गलबार

फोन र इन्टरनेटबाट वञ्चित

blog

नेपाल टेलिकमको टावरले काम नगरेको गाउँ । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, मङ्सिर १६ गते । मोबाइल फोनको टावरले काम नगर्दा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन् । नेपाल टेलिकमको टावर नहुँदा पाल्पाको माथागढी गाउँपालिका–५ र ६ का स्थानीय बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका हुन् । 

माथागढीको दुई वडाका १० भन्दा बढी गाउँमा अहिले पनि टावर विस्तार नहुँदा फोन सेवाबाट स्थानीय बासिन्दा वञ्चित छन् । माथागढी–५ को हात्तीलुङ, मौलाथर, ढाडकुन, वंशीडाँडा, मझुवा, तारुक, बगबास, दमार, माथागाउँ मोबाइल सेवाबाट वञ्चित भएका छन् । यस्तै वडा नं. ६ को केही गाउँमा पनि मोबाइलको टावरले काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।  

टेलिकमको टावरले काम नगर्दा आफूहरूले फोन सेवासमेत प्रयोग गर्न नपाएको स्थानीय बासिन्दा टोपकुमार सारूले गुनासो गर्नुभयो । “नेपाल टेलिकमको टावर वडा नं. ६ को भुटुकेमा छ तर त्यसले वडा नं. ६ कै केही गाउँ र वडा नं. ५ का सबै जसो गाउँमा टावर नटिप्ने समस्या छ,” उहाँले भन्नुभयो । टावरले काम नगर्दा मोबाइलमा पाइने इन्टरनेट सेवाबाट समेत आफूहरू वञ्चित भएको सारूको भनाइ छ । 

यस भेगका लागि छुट्टै टावर राख्नुपर्ने भए पनि हालसम्म पनि टावर स्थापना नभएको जनप्रतिनिधि बताउँछन् । यहाँका बासिन्दाको पहुँच पुग्ने गरी टावर स्थापना गर्न पटक पटक टेलिकमलाई भने पनि समस्या समाधान नभएको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । टावरले नटिप्ने वडा नं. ५ सहितका गाउँका मानिसले मोबाइलको फोन र इन्टरनेट सेवा लिन नसकेको उहाँले बताउनुभयो । 

स्थानीय बासिन्दा फोन सेवा लिन अर्कै गाउँमा जानुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमले भने यो वर्ष टावर विस्तार गर्ने योजना रहेको जनाएको छ । यो वर्ष त्यस भेगलाई समेट्ने गरी टावर राख्नका लागि पालिकासँग छलफल भइरहेको नेपाल टेलिकम पाल्पाका सूचना अधिकारी श्रीराम रेग्मीले बताउनुभयो ।