• ९ पुस २०८१, मङ्गलबार

प्रहरीका लागि भान्सा घर निर्माण

blog

जग्गा दातालाई सम्मान गर्दै नगरप्रमुख टीकाराम खड्का । तस्विरः गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसीपुर, मङ्सिर १५ गते ।  तुलसीपुर उपमहानगरपालिकाले प्रहरी चौकी उरहरीलाई भान्साघर निर्माण गरिदिएको छ । चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्साघर निर्माण गरिएको हो।

नगरप्रमुख टीकाराम खड्काले  पालिकाभित्र रहेका प्रहरी युनिटमा जग्गा प्राप्ति भएको स्थानमा आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । उहाँले जग्गा प्राप्तिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेको र ११ वटाको जग्गा प्राप्ति भए पनि भवन निर्माण गर्न साधन स्रोतको अभाव रहेको बताउनुभयो । उहाँले  जिल्लामा चारसय जनशक्ति अभाव रहेको बताउनुभयो ।

स्थानीय द्रोण बस्नेतले प्रहरी चौकीमा शौचालय र गोलघरको आवश्यकता रहेको बताउनुभयो । उहाँले समुदायबाट निर्माण सुरु गरिएको प्रहरी चौकी थप संरचना निर्माणमा स्थानीय सरकारको सहयोग सकारात्मक रहेको बताउनुभयो ।

प्रहरी चौकी उरहरीका प्रमुख भरतनाथ योगीले तीन कोठे भवनमा भान्सा मात्र नभई विपद्को समयमा राहत सामग्री व्यवस्थापन, निर्वाचनको समयमा निर्वाचन सामग्री व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक एवम् ११ वडाध्यक्ष मानबहादुर रावतले तीन वटा वडा कार्यक्षेत्र र पालिकाको डुबान क्षेत्र समेत रहेकाले भवन बहुआयामिक रूपमा उपयोग गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रहरी चौकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्नुहुने तेजबहादुर बुढाथोकी र तीन कठ्ठा जग्गा दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।