• ९ वैशाख २०८२, मङ्गलबार

चार वर्षमा पुलको जगसमेत बनेन

blog

बाँकेको जानकी र खजुरा गाउँपालिका जोड्ने चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको अवस्था । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा  

बाँके, मङ्सिर १४ गते । बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा चार वर्षअघि पक्की पुल निर्माणको काम सुरु भए पनि अहिलेसम्म फाउण्डेशन (जग) को काम पूरा हुन सकेको छैन । 

लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार कार्यालय नेपालगञ्जमार्फत गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको फाउण्डेशनको विवादमा सम्झौता अवधि नै समाप्त भएको छ । 

सम्झौताअनुसार २०८० असार २५ गतेसम्म नयाँ पुल निर्माण भइसक्नुपर्ने थियो । खजुरा –४ चल्तुवाका बुद्धिकुमारी थापाले पुल निर्माण अलपत्र भएर आफूहरुले दुःख मात्र पाएको बताउनुभयो । 

थापाले भन्नुभयो, ‘पुल निर्माण सुरु भएपछि उत्साहित भएका दुबै पालिकाका बासिन्दा चार वर्षसम्म फाउण्डेशनको खाल्डो हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ ।’ पुल निर्माणका लागि जमिनमुनि निर्माण गरिएको पायल फाउण्डेशनको काम गुणस्तरीय नभएको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जले जनाएको छ । 

पायल फाउण्डेशन गुणस्तरीय नभएपछि करिब तीन वर्षदेखि पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । पुलका लागि निर्माण गरिएका ५० वटा पायलकै फाउण्डेशनमै समस्या देखिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ । 

पुनः फाउण्डेशन बनाउने वा अन्य विकल्पमा जाने भन्ने एकिन हुन सकेको छैन । सडक पूर्वाधार कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काले किरण नाला अन्तर्गत चल्तुवामा निर्माणाधीन पुल समस्याग्रस्त देखिएको बताउनुभयो । उहाँले मन्त्रालयमा आवश्यक समन्वय गरी तत्काल काम अघि बढाउन कार्यालयका तर्फबाट पहल गर्ने बताउनुभयो ।