लीलाधर वली
घोराही, मङ्सिर १४ गते । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो ।
अहिलेसम्म देउखुरीको गढवा र राजपुर गाउँपालिकाबाट धेरै धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार छ सय २५ क्विन्टल र बाँकी तुलसीपुर उपमहानगरपालिकाबाट धान खरिद गरिएको बताउनुभयो ।
शाखा कार्यालय प्रमुख सुनारका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको मूल्यमा प्रति क्विन्टल ३४ सय १० रुपियाँ ५१ पैसाका दरले किसानबाट धान खरिद गरेको बताउनुभयो । जिल्लामा धान खरिदका लागि ढिला परिपत्र आउँदा लक्ष्य अनुसार धान खरिद गर्न ढिलाइ भइरहेको बताउनुभयो ।
शाखा प्रमुख विकले भन्नुभयो,‘जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि अहिलेसम्म एक हजार छ सय ३२ क्विन्टल मात्र धान खरिद भएको छ ।’ ढिलाे गरी परिपत्र आउँदा किसानले व्यवसायीलाई धान बिक्री गरिसकेको हुँदा धान पाउन समस्या भएको उहाँले बताउनुभयो । जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कात्तिक २१ गतेदेखि धान खरिद गर्न थालेको थियो । कार्यालयले जिल्लामा पुसको अन्तिमसम्म धान खरिद गर्ने जनाएको छ ।
खाद्यले स्थानीय तहसँग समन्वय गरेर धान खरिद गरिरहेको भए पनि धेरै किसानले बिक्री गरिसकेकाले धान पाउन समस्या भएको बताउनुभयो । खाद्यले धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण २ प्रतिशतभन्दा कम, टुक्रेको–बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु जनाएको छ । केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्नका लागि परिपत्र गरेको छ ।